श्रवण मुकारुङकी जीवनसाथी गीतासँग संवाद : उहाँको कविता र गीतले जेनतेन घर चलेको छ

कुनै समय गीता थापा मगरको परिचय गोर्खाको बुङकोट गाउँकी किशोरीको रुपमा मात्रै थियो । जब २०५५ सालमा एसएलसी पास गरिन्, उनको परिचय क्रमिक रुपमा फैलिँदै गयो । पद्मकन्या क्याम्पसमा आइए पढ्न थालिन् । जब जनजाति महिला मन्चको सदस्य बनिन्, सीमान्तमा बाँचेका महिलाहरुको प्रतिनिधि आवाज बनिन् । र, जब ‘महिला आवाज’ नामक पत्रिका च्यापेर राष्ट्रिय सभागृह पुगिन्, तब उनको भेट कवि तथा गीतकार श्रवण मुकारुङसँग भयो ।
यो २०५७ सालको कुरा हो, ‘महिला आवाज’ पत्रिकाका लागि लेखहरु संकलन गर्थिन् गीता । त्यो पत्रिका जनजाति महिला मन्चले निकाल्थ्यो । उक्त संस्था रश्मी थापा, संगीनी राना मगर, सोनी लामा, यशुकान्ति भट्टचन लगायत मिलेर खोलेका थिए । संस्थाको उद्देश्य थियो, गाउँ गाउँमा पछाडि परेका जनजाति महिलालाई मूलधारमा ल्याउन कोसिस गर्ने, अवसर नपाएकाहरुलाई अवसर खोजिदिने । थापा स्वयं पनि पिँधमा पारिएको समुदायबाट आएकी थिइन्, त्यसैले संस्थामा जोडिइन् ।
उनी संस्थामै भएको बेला कवि तथा गीतकार मुकारुङसँग उनको भेट भयो, राष्ट्रिय सभागृहमा । किराँत विद्यार्थी संगठनको कार्यक्रममा महिला मन्चको प्रतिनिधि बनेर गएकी थिइन् । संजोग लाफा मगरसँग उनको चिनजानी थियो । तिनै संजोगसँग लखरलखर हिँडेर आए, मुकारुङ ।
मुकारुङलाई गीताको परिचय गराउँदै संजोगले भने, ‘उहाँ चाहिँ गीता थापा बहिनी, महिला आवाज पत्रिकामा काम गर्नुहुन्छ ।’ गीतालाई मुकारुङको परिचय दिँदै संजोगले भने, ‘उहाँ चाहिँ अहिलेको चर्चित गीतकार ।’ त्यसवेलासम्म मुकारुङको ‘माथि माथि सैलुङ्गेमा’ र ‘तिमी तारे भीर’ गीत चर्चित भइसकेको थियो ।
गीताले पनि ‘माथि माथि सैलुङ्गेमा’ चाहिँ गाउँमै सुनेकी थिइन् । उनी पहिलो भेट सम्झिन्छिन्, ‘संजोग दाइले परिचय गराउनुभएपछि ‘ए ए’ भनेँ । अनि हामी छुट्टियौं ।’
यसको ठीक एक वर्षपछि पुनः गीता–श्रवणको भेट भयो, पद्मकन्या क्याम्पसको एक कार्यक्रममा । एक वर्षअघि नै चिनजान भइसकेकाले मुकारुङले सीधै गीताको ल्याण्डलाइन नम्बर मागे । गीता हाँस्दै सुनाउँछिन्, ‘मैले पनि केही नसोची दिएँ ।’
मुकारुङले बेला बेेला गीतालाई फोन गर्थे । हालखबर सोध्थे । हाइहेल्लो सोध्थे । अलि पछि भेट्ने प्रस्ताव गरे । दुवै भेट भए, चिया पिए, खाजा खाए । अन्ततः तीन वर्षपछि जागिर नभएको, गीत तथा कविता भनेर दौडिरहेको मुकारुङलाई जीवनभरका लागि झेल्न तयार भइन् गीता । २०६० सालमा विनासर्त विवाह गर्न तयार भइन् ।
अहिले त गीता–श्रवणले विवाह गरेको पनि २१ वर्ष भइसकेको छ । दुई छोरी जन्मिसकेका छन् । र सामान्य आर्थिक अवस्थाकै बीच २१ वर्षदेखि बेरोजगार कवि तथा गीतकारलाई झेलिरहेकी छन् । प्रेम र साथ दिइरहेकी छन् । मुकारुङलाई लेख्ने, डुल्ने वातावरण बनाइदिइरहेकी छन् ।
यो लामो सहकार्यमा गीताले मुकारुङसँग गरगहनाको माग गरिनन् । राम्रा कपडाको माग गरिनन् । भौतिक सुख सयलको अड्को थापिनन् । जे जति कमाइ हुन्थ्यो, त्यही कमाइमा घरपरिवार चलाएर आइन् । यदि गीताले आफ्नो रहर, इच्छा र चाहनाको भोल्युम मात्रै अलिकति बढाएकी भए सायद मुकारुङलाई ‘फुलटाइमर कवि’ भइखान गाह्रो पथ्र्यो ।
नेपालप्रेसका लागि नवीनकाजी राईले तिनै गीतासँग वैवाहिक जीवन, घर व्यवहारबारे कुराकानी गरेका छन् । एउटा कविलाई झेल्नुका दुःख–सुखबारे उनले खुलेर कुरा गरेकी छन् । कविहरु लथालिंग हुन्छन्, गैरजिम्मेवार हुन्छन् भन्ने आम बुझाइ छ । ती आम बझुाइमाथि पनि गीताले खुलेर कुरा गरेकी छन् । प्रस्तुत छ मुकारुङका सृजनाहरुको पहिलो पाठक गीता थापासँग गरिएको कुराकानीको सम्पादित अंश:–
श्रवण मुकारुङसँग भेट नहुँदै बिहेको प्रस्ताव थुप्रो आएको थियो होला, कसरी बिहेबाट जोगिनुभयो ?
अँ, त्यसबेला एसएलसी पास गर्नु साँच्चिकै ठूलो कुरा हुन्थ्यो । यही बन्छु भन्ने सपना त थिएन, तर पढ्नुपर्छ भन्ने लाग्थ्यो । छोरीमान्छेलाई पढाउने चलन उति साह्रो थिएन । मेरी दिदी रश्मीको पालादेखि हाम्रो घरमा पनि छोरीलाई पढाउन सुरु गरियो । मैले पनि पढ्न पाएँ ।
बिहे गर्ने प्रस्ताव त आएका थिए । हाम्रो घरमा चाहिँ कस्तो थियो भने बिहे नै गर्नलाई दबाब थिएन । कसैले त १६÷१७ वर्षको उमेरमै विवाह गरेका थिए । तर, कतिपय फुपूहरुले पनि विवाह गर्नु भएको थिएन । त्यसले गर्दा मलाई बिहे पन्छाउन सजिलो भयो ।
श्रवण मुकारुङसँग भेट हुँदा कविताप्रति चाहिँ तपाईंको कत्ति को रुचि थियो ?
म त यस्तो वातावरणमा हुर्किएँ कि गीत र संगीतको वातावरण नै थिएन घरमा । गीत गाउनुपर्छ, नाच्नुपर्छ, कविता लेख्नुपर्छ भन्ने कुरा धेरै परको थियो । पारिवारिक माहौल त्यस्तो भएकाले कवितातिर मेरो रुचि हुने कुरै भएन ।
झनै म त एकदमै कम बोल्ने मान्छे हो । गीत गाउने, बोल्ने, हाँसखेल गर्ने खालको स्वभाव मेरो होइन । म त रिजर्भ मान्छे हो । त्यही कारण मलाई कुनै पनि कुरामा रुचि थिएन । झनै कविता त गाह्रो विषय भयो ।
उहाँसँग सभाग्रहमा भेट भए पनि त्यसपछि उहाँ आफ्नै दुनियाँमा, म मेरो आफ्नै दुनियाँमा भएँ । उहाँले लेखेको गीत त गाउँमै सुनेकी थिएँ, कवितामै रुचि चाहिँ थिएन । सभागृहमा भेट भको एक वर्षपछि कलेजको कार्यक्रममा फेरि भेट भयो । भेट हुँदा उहाँले फोन नम्बर माग्नुभयो । मैले ल्याण्डलाइन नम्बर दिएँ । त्यसपछि कुराकानी सुरु भएको हो ।
सीधै फोन नम्बर माग्नुभयो ?
अँ, सीधै माग्नुभयो । मैले पनि दिएँ । दुई तीन महिनापछि फोन गर्नुभयो । कुराकानी भयो ।
भनेपछि त्यसपछि बाक्लो कुराकानी हुन थाल्यो ?
सुरु सुरुमा त फोन गरेर सन्चै हुनुहुन्छ, के कसो छ खबर भनेर सोध्नुहुन्थ्यो । हाम्रो महिला मन्चको अफिस अनामनगरमा थियो । म पुतलीसडक हुँदै अफिस जान्थेँ । उहाँहरु त्यतै पुतलीसडकतिरै बस्नुहुँदो रहेछ । उहाँले भेटौं भन्नुभयो । मैले भेटेँ । भेट भएर चिया खान सुरु गर्यौं । उहाँले ‘खाजा खाऔं’ भन्नुभयो । खाजा खायौं ।
बिहे नै गर्ने निर्णय चाहिँ कसरी लिनुभयो ?
हाम्रो भेटघाट हुँदा उहाँसँगै विवाह गर्छु भनेर सोचेकै थिइनँ । उहाँसँग बिहे नै गर्ने सोच त धेरै परको कुरा थियो । बेलाबेला फोन गर्नुहुन्थ्यो । भेटघाट बाक्लिँदै गएको थियो । दुई तीन वर्ष भेटघाटमै बित्यो । प्रेमजस्तो केही सायद पलाएको थियो । भेट्दा रमाइलो लाग्थ्यो ।
तीन वर्ष नै भएपछि मैले सोचेँ, ‘अब यसरी नै त हुँदैन । केटा ठिकै छ । एक दिन जोसँग भए पनि विवाह गर्नैपर्ने हुन्छ ।’ अनि सीधै उहाँलाई प्रस्ताव गरेँ, ‘अब चाहिँ विवाह गर्नुपर्छ । यसरी भेटघाट मात्रै गरिरहनु राम्रो होइन ।’
एक बेरोजगार कवि तथा गीतकारसँग विवाह गर्न किन तयार हुनुभएको थियो ?
अब यस्तो हुन्छ, भगवानले लेख्या भनुँ कि के भनुँ कुन्नि ! उहाँसँगै भेट हुने लेखेको थियो होला सायद । त्यसैले पनि मैले अरु पाटोबारे नै सोचिनँ । सबै कुरा चल्दै जाला भन्ने सोचेँ । मुख्य कुरा पैसाको हो, पैसा भनेको आज हुन्छ, भोलि हुँदैन । आज नहुनेको साथमा भोलि हुनसक्छ । जिन्दगी त चल्दै जान्छ भन्ने सोचेँ ।
घर परिवार चलाउने कुरालाई कसरी सोच्नुभएको थियो ?
म पहिलेदेखि नै खर्च कम गर्ने मान्छे । मलाई तडकभडक मन पर्दैन । अनावश्यक खर्च गर्न त झनै फिटिक्कै मन पर्दैन । बाबा गोर्खा दरबारको पुजारी हुनुहुन्थ्यो । उहाँले तलब बुझेर ल्याएर मलाई जिम्मा लगाउनुहुन्थ्यो । कतिलाई कसरी पुर्याउने भनेर म आफैंले व्यवस्थापन गर्थें । पहिल्यैदेखि घरव्यवहार चलाएकीले ममा हिम्मत थियो । दुईटा जिन्दगी पनि सजिलै चलाइदिनसक्छु भन्ने आँट थियो ।
म त सानो भए पनि संस्थामा काम गर्थें । उहाँको त त्यही पनि थिएन । गीतहरु लेख्नुहुन्थ्यो । कविताहरु लेख्नुहुन्थ्यो । त्यसबाट कति पारिश्रमिक पाउनुहुन्थ्यो, मलाई थाहा थिएन । एउटा किताब ‘जीवनको लय’ भन्ने चाहिँ निकाल्दै हुनुहुन्थ्यो । उहाँको आम्दानी नै थिएन । कहिलेकाहीँ पुरस्कारहरु पाउनुहुन्थ्यो । र पनि मैले बिहे गर्ने आँट गरेकी थिएँ ।
अहिले चाहिँ कसरी घर चलाइरहनुभएको छ ?
उहाँले नेपाल एकेडेमीमा चार वर्ष प्राज्ञ हुनुभयो । त्यसले अलिअलि सहयोग गर्यो । अहिले त गीत, कविताहरु लेख्नुहुन्छ । अलिअलि पारिश्रमिक ल्याउनुहुन्छ । त्यसरी नै चलेको छ ।
घर व्यवहार चलाउन कतिको गाह्रो भइरहेको छ ?
पैसा भन्ने चिज जति धेरै खर्च गरियो, उति खर्च गर्न मन लाग्ने चिज हो । तर, यति भएपछि घर व्यवहार चलाउन सक्छु भनेर सोचियो भने मज्जाले चलाउन सकिन्छ । अहिले त्यसरी नै चलाइरहेकी छु ।
बिहे गरिसकेपछि गरगहनाको सौख भएन ?
(हाँसो) बिहे नै अचम्म तरीकाले भयो । मैले उहाँलाई ‘बिहे गर्नुपर्छ’ भनेर त भनेकी थिएँ । तर, यही मितिमा गर्नुपर्छ भनेर भनेकी थिइनँ । मैले नै बिहेको प्रस्ताव राखेकीले उहाँलाई आँट आएछ क्यार ! उहाँ त चारपाँचजना जन्ती लिएर अचानक घरमा आउनुभयो । म त छक्क परेँ । कुनै सूचना दिनुभएको थिएन । म बेहुली बन्दैछु भन्ने थाहा पनि थिएन ।
उहाँहरुले बाबा, काकाहरुसँग सल्लाह गर्नुभयो । ठूलो दाइले पनि भन्नुभयो, ‘ठिकै छ नि, केटाकेटी मन परापर भइसक्यो ।’ यसपछि टिका लगाएर पठाइदिनुभयो । गरगहनाको त कुरै भएन । अब अलिअलि गहनाको त रहर लाग्छ नि ! कहिलेकाहीँ अरुले छपक्कै लगाएको देख्दा अलिअलि रहर लाग्छ । तर, ‘जसरी पनि चाहियो’ भन्ने खालको रहर चाहिँ छैन ।
वैवाहिक जीवनमा एकदमै गाह्रो आर्थिक अवस्थाबाट गुज्रिनुभएको छ ?
गुज्रिएकी छु नि ! बालुवाटारमा बस्दाखेरि ठूली नानी भर्खरै जन्मिएकी थिई । सानै थिई । नानी हो, खानेकुरा देखेपछि खान खोज्थी । खेलौना देखेपछि खेलाउन खोज्थी । किनिदिनलाई चाहिँ पैसा हुन्थेन । अलि दुःख लाग्थ्यो । निकै दुःखले हुर्काएँ दुई छोरीहरुलाई ।
श्रवण मुकारुङले चाहिँ अभिभावकको जिम्मेवारी कसरी निर्वाह गरे ?
जागिर नभए पनि आर्थिक कुरामा सेन्सिटिभ नै हुनुहुन्थ्यो । जे जति पारिश्रमिक ल्याउनुहुन्थ्यो, ल्याएर मलाई दिनुहुन्थ्यो । बाहिर अनावश्यक खर्च गर्नुहुन्नथ्यो । त्यसले गर्दा घर चल्यो । हामी दुवैजनाको खर्च गर्ने स्वभाव मिल्छ । त्यसैले समझदारीमा हाम्रो घरपरिवार चल्यो ।
श्रवण मुकारुङका कविताहरु चाहिँ कस्ता लाग्छन् तपाईंलाई ?
उहाँको कविताहरु सबैलाई मन पर्छन् भने मलाई मन नपर्ने भन्ने नै हुँदैन । उहाँको कविताहरु सरल लाग्छन् । सबैले बुझ्ने गरी लेख्नुहुन्छ । आम जनतासम्म पुग्ने खालको लेख्नुहुन्छ । पछाडि पारिएका, बोल्ने आवाज नभएकाहरुको पक्षमा लेख्नुहुन्छ, मलाई त्यो मनपर्छ । म पनि त्यस्तै समुदायबाट आएकीले होला । उहाँका गीतहरु पनि राम्रो लाग्छ ।
नयाँ कविताहरु तपाईंलाई सुनाउँछन् कि सुनाउँदैनन् ?
उहाँको कविताको पहिलो पाठक म नै हो । मलाई सुनाएर ‘कस्तो छ’ भनेर सोध्नुहुन्छ । ‘यता अलि नमिलेको हो कि, अझैं मिलाउनुपर्ने हो कि’ भनेर सल्लाह दिन्छु । मैले दिएको सल्लाहलाई स्वीकार्नुहुन्छ । कवितालाई सुधार्नुहुन्छ । ‘अझैं मिलाउँदा राम्रो हुन्छ’ भनेर भन्छु । उहाँले मिलाउनुहुन्छ ।
कविता भनेको के रै’छ त ?
थोरै शब्दले धेरै कुरा भन्नु कविता होला ।
छोरीहरुलाई बुवाको कविता, गीतप्रति कतिको रुचि छ ?
उनीहरुलाई खासै छैन । अहिले पढाइमै केन्द्रित भएर पनि होला । फेरि अहिलेको पुस्ताले कोरियन गीत भन्छन्, इङ्लिस गीत भन्छन् । नेपालका पनि नयाँ गायक गायिकालाई सुन्छन् । पप टाइपको हो कि के टाइपको नयाँ नयाँ स्वादको गीत मात्रै सुन्छन् उनीहरु ।
तपाईंलाई चाहिँ कस्ता गीत मनपर्छन् ?
मलाई त अलि पुरानै, ‘तिमी तारे भीर’ जस्तै ।
तपाईंलाई सम्बोधन गरेर श्रवण मुकारुङले कवितै लेख्नुभयो, ‘म्याडम गीता’ । त्यो कविता पढेपछि कस्तो लाग्यो ?
अरुबेला त नयाँ कविता सुनाउनुहुन्थ्यो । त्यो कविता लेख्दा चाहिँ मलाई सुनाउनुभएन । एकैपटक कविता छापिएपछि पो तीनछक परेँ । त्यही भएर पो मलाई नसुनाउनु भएको रहेछ भनेँ । कविता पढेपछि राम्रो नै लाग्यो । जे छ, उहाँले त्यही लेख्नुभएको थियो । कवितामा जसरी नै हाम्रो भेट भएकाले पनि रमाइलै लाग्यो । खुसी पनि लाग्यो ।
कविसँग बिहे गर्नुको रमाइलो पक्ष चाहिँ के रहेछ ?
समाजका समस्या, मुद्दाका विषयमा घरमा पनि कुरकानी हुन्छ । त्यही कुरा कविताहरुमा आउँदा रमाइलो लाग्ने रहेछ ।
खराब पक्ष चाहिँ ?
उहाँको त सबै कुरा ठिकै छ, राम्रै छ । उहाँ असल श्रीमान् पनि हुनुहुन्छ । असल बुवा पनि हुनुहुन्छ । अनि असल अभिभावक पनि हुनुहुन्छ । समाजको लागि पनि असल मान्छे हो जस्तो लाग्छ मलाई । समाजकै लागि लेखिरहनुभएको छ जस्तो लाग्छ । उहाँको खराब बानी भनेको चाहिँ नढाँटी भन्दा अलिकति खाएको बेला सबैलाई डिस्टर्ब गर्नुहुन्छ ।
खाएको बेला के गर्नुहुन्छ र ?
खाएको बेला चुप लागेर सुत्नुहुन्न । सबैलाई डिस्टर्ब गर्नुहुन्छ ।
मदिरा पिएकाले लफडा परेको छ कि छैन ?
अगुल्टो त नठोसी बल्दैन भन्छन् । अलिअलि ठाक ठाक ठुक ठुक त हुन्छ । तर अहिलेसम्म लामो समयसम्म झगडा भएको चाहिँ छैन ।
खाएरै लफडा गर्ने चरीत्र त छैन ?
खाएको बेलामा मात्रै हो लफडा गर्ने । भोलिपल्ट त थाहै हुन्न उहाँलाई । हिजो राति केही नभएको जस्तो गर्नुहुन्छ ।(हाँस्दै)
खाएको बेला कसरी सम्हाल्नुहुन्छ ?
सकेसम्म सुताउने कोसिस गर्छु । शान्त बनाउने कोसिस गर्छु । कहिलेकाहीँ मलाई पनि रिस उठ्छ, कराइन्छ पनि (हाँस्दै) ।
श्रवण मुकारुङले कविता वाचन गरेको कार्यक्रममा पुग्नुभएको छ ?
छैन । म आफ्नै दुनियाँमा रमाइरहेकी हुन्छु । उहाँ आफ्नो काममा लाग्नुहुन्छ । उहाँको काममा लैजानुस् भनेर पनि भन्दिनँ । उहाँलाई काममा स्वतन्त्र छाडिदिन्छु । कहिलेकाहीँ उहाँको कार्यक्रममा जाऔं न त, कविता सुनौं न त भन्ने लाग्छ । तर, बच्चाहरु भएकाले जानै भ्याइँदैन ।
तपाई त उतिवेलै आइए पढेको मान्छे । बिहे गरेर घरमै थन्किएको जस्तो लाग्दैन ?
लाग्न त लाग्छ । बिहे गरेपछि मैले दुई वर्ष जति काम गरेँ होला । उहाँको पनि काम परिरहन्थ्यो । हामी दुवै घर बाहिर भएपछि घर सम्हाल्न गाह्रो भयो । अनि उहाँलाई काम गर्न स्वतन्त्र रुपमा छाडिदिनुपर्छ भन्ने लाग्यो । मैले जागिर छाडेँ । घर सम्हाल्नतिर लागेँ ।
अनि गीत र कविताको पारिश्रमिकले घर सम्हाल्न सम्भव रै’छ त ?
महत्वकांक्षा ठूलो राखेन भने जसरी पनि चलाउन सकिन्छ । चलाइराखेकै छु । बीचमा उहाँले उपन्यास लेख्छु भन्नुभयो, मैले ठिकै छ नि त भनेँ । अहिले उपन्यास लेखिसक्नुभयो । त्यसका लागि घरमा मैले माहौल बनाइदिएकी छु ।
कवि लेखक लथालिङ्ग हुन्छन्, घर सम्हाल्न जान्दैनन् भन्ने आम बुझाइ छ । तपाईंको बुझाइ चाहिँ के हो ?
त्यो त दुईजनाको समझदारीमा भर पर्ने कुरा हो । आफ्नो काम पनि अगाडि बढाउँदै, घरमा पनि समय दिनसक्ने गुण कविमा हुनुपर्छ । घरको वातावरण कस्तो बनाउने भन्ने कुरा कविमै भर पर्छ । मैले पनि कविको श्रीमती भएपछि उहाँको काम के हो, उहाँ के सोच्दै हुनुहुनछ भनेर बुझिदिनुपर्छ । यति भए जीवन चलाउन सकिन्छ ।
कवि लेखकले बढी नै रक्सी पिउँछन् भनिन्छ । श्रवण मुकारुङको हकमा यो लागु हुन्छ कि हुन्न ?
उहाँ पिउन त पिउनुहुन्छ, तर त्यस्तो लती चाहिँ होइन । दिनकै रक्सी चाहिने खालको मान्छे होइन । वेलावेला पिउनुहुन्छ । सधैं मातेर घर आउनुहुन्छ भन्ने पनि हुँदैन । हामीले उहाँको संगतहरुलाई पनि नियालिरहेका छौं नि ! त्यसैले उहाँको हकमा त्यस्तो कुरा त लागु हुन्न ।
मान्छेलाई पैसा कति चाहिने रहेछ ?
पैसा मान्छेलाई चाहिन्छ पनि, पैसाले मान्छे बिग्रेका पनि छन् । त्यो पैसालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा मात्रै हो । पैसा पनि चाहिन्छ, सँगै पैसा मात्रै ठूलो कुरा पनि होइन ।
घर चलाउनलाई के के चाहिन्छ ?
पैसा त चाहिने भइगयो । मुख्य रुपमा श्रीमान र श्रीमतीको समझदारी नै हो । श्रीमानले श्रीमतीको इच्छा चाहनालाई कतिको ख्याल गर्छ भन्ने कुरा हो । श्रीमतीले पनि श्रीमान्को काममा बाधा अड्चन नल्याइदिएमा घर चल्छ ।
घरमा लेख्ने वातावरण कसरी बनाइदिनुहुन्छ ?
घरमा उहाँ आफ्नै काममा, म आफ्नै काममा हुन्छु । चियापानीको व्यवस्था गरिदिन्छु । लेख्न बसेको छ भनेपछि डिस्टर्ब गर्दिनँ । लेखनको क्रममा चाहिने सबै चिजको व्यवस्थापन गरिदिन्छु ।
अब श्रवण मुकारुङले के के काम गरोस् जस्तो लाग्छ तपाईंलाई ?
उहाँले काम गर्न त अझैं धेरै बाँकी छ । उपन्यास निकाल्दै हुनुहुन्छ । कवितासंग्रह र गीतसंग्रह पनि छ । आत्मकथा पनि छ उहाँको । पाँच दश वर्ष अझैं काम गरिरहनुपर्छ भन्ने लाग्छ । किनभने उहाँले केही न केही समाजलाई अझै दिनुपर्छ भन्ने लाग्छ ।
तपाईंलाई श्रवण मुकारुङको सबैभन्दा मनपर्ने कविता कुन हो ?
‘पुरानो मानिस’, यो कवितमा हाम्रो जनजातिहरुको आवाज पनि हो नि त ! कविता मलाई कण्ठै छ,–
यस धरतीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा… ?
सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?
अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेटलन्चर
वा–
जैविक हतियार
अथवा–
अन्तर्राष्ट्रिय गीत ?
…..
०००
कवि तथा गीतकार श्रवण मुकारुगंज्यूलाई धेरै धेरै बधाई, गीता थापा मगर जस्तो असल अवि ज्ञानी श्रीमती पाउनु भएकोमा । घरलाई स्वर्ग बनाउने त असल श्रीमतीले नै हो ।
पढेर मज्जा लाग्यो।म वहाँको कविता पढेर रमाई रहन्छु कोहिवेला।यति गम्भीर भाव,
विम्व,शब्द,शैली र बिमानलाई संयोजित
गरेन कविता लेख्न सक्ने कविको जीवन
र पारिवारिक जीवन बुझ्नुपर्छ पाइयो।
म.वहाँको सम्मान गर्छु।
म पनि श्रवण मुकारुङ को फ्यान हो । वाहाको हरेक रचना मन पर्छ । भाव छ । अझै पुर्व झल्किन्छ ।