बिरामीको उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन – Nepal Press

बिरामीको उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम । बिरामीको उपचारमा लापरबाही गरेको भन्दै जनकपुरधामस्थित मुस्कान अस्पताललाई तत्काल बन्द गरी साँचो बुझाउन मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् ।

अस्पतालमा सर्लाहीको हरिपूर्वा नगरपालिका ५ की २५ वर्षीया बविता यादवको पित्तथैलीको शल्यक्रिया गरिएको थियो । तर उनको होस अहिलेसम्म खुल्न नसकेको घटना बाहिरिएपछि मुख्यमन्त्री सिंह अस्पताल पुगेका थिए ।

उनी शुक्रबार दिउँसो अस्पताल पुग्दा सञ्चालक भेटेका थिएनन । त्यसपछि मध्यरातमा पुनः अस्पताल पुगेर मुख्यमन्त्री सिंहले शनिवार विहान ११ बजेभित्र अस्पतालमा ताला लगाएर साँचो बुझाउन निर्देशन दिए ।

मुख्यमन्त्री सिंह पुग्दा अस्पतालमा मात्र तीन विरामी थिए । पित्तथैलीको शल्यक्रिया गराएकी महिला यादवको होस् नखुलेकाले उनलाई तत्काल बाहिर पठाउन पनि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशनपछि अस्पताल प्रशासनले ती महिला बिरामीलाई जानकी हेल्थ केयरमा पठाएको बुझिएको छ । शल्यक्रियामा लापरबाही गरेको विषयमा छानविन गर्ने र दोषी ठहर भए कानून बमोजिम कारबाही हुने चेतावनी समेत मुख्यमन्त्री सिंहले दिएका छन् ।

उक्त अस्पताल कुनै निकायमा दर्ता छैन । स्वास्थ्य सम्बन्धी सहायक सेवाहरु सञ्चालन गर्न पाउने भनेर कम्पनी रजिस्टारको कार्यालयमा मात्र दर्ता छ । अस्पतालले एमविविएस डाक्टर समेत नराखेको पाइएको छ । कार्यरत एचए र अहेबसहितका कर्मचारीलाई नियुक्ति पत्र पनि दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *