प्रेस काउन्सिललाई पूर्वाग्रहरहित कार्य गर्न पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ध्यानाकर्षण


काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले मिडिया क्षेत्रको नियामक निकाय प्रेस काउन्सिल नेपाललाई मर्यादित, जिम्मेवार र पूर्वाग्रहरहित ढंगले कार्य गर्न भन्दै ध्यानाकर्षण बुझाएको छ ।
प्रदेश अध्यक्ष टेनिस रोकाको संयोजकत्वको प्रतिनिधि मण्डलले शुक्रबार काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई उनकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउँदै मिडिया र पत्रकारलाई दुःख दिने प्रावधान हटाउन समेत माग गरेको छ । सो क्रममा पत्रपत्रिका वर्गीकरणको काम पारदर्शी र बिना पूर्वाग्रही ढंगले निष्पक्ष, विवादरहित बनाउन पनि माग गरिएको छ ।
प्रदेशले सूचना विभागले अनलाइन मिडियाको दर्ता प्रक्रियाको कार्य गर्ने भएको हुँदा काउन्सिलमा पुनः सुचिकरण गरेर मिडिया सञ्चालक तथा पत्रकारलाई थप झण्झट प्रदान गर्ने कार्य हटाउन समेत माग गरेको हो ।
प्रदेश समितिले विभिन्न अनलाइन मिडियालाई सूचीकरणबाट हटाएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल उक्त निर्णय फिर्ता लिन माग समेत गरेको छ । ‘कालोसूचीमा राख्ने निर्णयप्रति प्रदेश समिति आपत्ति व्यक्त गर्दछ । यस्तो गम्भीर किसिमको निर्णय अर्धन्यायिक निकायबाट नभएर न्यायिक परीक्षण (ज्यूडिसिअल टेस्ट) बाट प्रमाणित भएकोलाई मात्र मान्न सकिने स्पष्ट पार्न चाहन्छौं’, ध्यानाकर्षण पत्रमा भनिएको छ ।
मिडिया विकास कोष अन्तर्गतका सेवा सुविधामा काठमाडौं उपत्यकालाई समावेश नगरेकोप्रति पनि प्रदेशले आपत्ति प्रकट गरेको छं । कार्यविधि संंशोधन गरेर सबैभन्दा धेरै पत्रकार र सञ्चारमाध्यम रहेको उपत्यका प्रदेश अन्तर्गतका जिल्लालाई यो सेवा सुविधामा समावेश गर्न प्रदेशको माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष बस्नेतले यस्ता ध्यानाकर्षणले काउन्सिलका काम कारबाहीलाई प्रभावकारी र जिम्मेवार बनाउन सहयोग पुग्ने बताएका छन् । उनले प्रदेशका राखेका उचित मागहरु आगामी बैठकमा पेश गरेर सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
सो क्रममा उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईं, कोषाध्यक्ष संजीप घिमिरे, काउन्सिलका मुख्य अधिृकत झबिन्द्र भुसाललगायतको उपस्थिति रहेको थियो ।