महिला क्रिकेट प्रशिक्षकको अभिव्यक्ति क्यानको नोटिसमा, अनुशासन उल्लंघनको विषय बन्नसक्ने
डिसेम्बरमा क्यानसँगको करार सकिए पनि कटुवालले अन्तरिमरुपमा प्रशिक्षकको जिम्मेवारी निभाइरहेका छन्


काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टीमका प्रशिक्षक मनोज कटुवालले दिएको ‘विवादित’ अभिव्यक्तिलाई नेपाल क्रिकेट संघ (क्यान) ले नोटिसमा लिएको छ ।
एक अन्तरवार्तामा उनले खेलाडीहरुको तीव्र आलोचना गरेका थिए । कटुवालको अभिव्यक्तिलाई लिएर क्यानमा अनौपचारिक छलफल भएको एक अधिकारीले बताए ।
यद्यपि, प्रतियोगिताकै बीचमा प्रशिक्षकमाथि कुनै ‘एक्सन’ हाल्नु उपयुक्त नहुने भएकाले तत्काल निर्णय नलिइएको ती अधिकारीको भनाइ छ ।
‘यो अवश्य पनि अनुशासन उल्लंघनको विषय हो । प्रशिक्षक जस्तो जिम्मेवार व्यक्तिले यसरी बोल्नु शोभनीय हुँदैन’, उनले भने ।
स्रोतका अनुसार कटुवाललाई यो विषयमा स्पष्टीकरण सोध्ने तयारी क्यानको छ । उनले दिने जवाफका आधारमा आवश्यक निर्णय लिइने छ ।
के भनेका थिए ?
नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले टीमको नतिजा सुधार गर्नका लागि विदेशी प्रशिक्षक चाहिने अभिव्यक्ति दिएकी थिइन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक प्रतियोगितामा नेपालले लगातार हार व्यहोरेको सन्दर्भमा उनले विदेशी प्रशिक्षकको माग गरेकी हुन् ।
यही विषयमा मिडियालाई अन्तरवार्ता दिँदै कटुवालले खेलाडीहरुको आलोचना गरेका हुन् ।
उनले भनेका थिए, ‘अहिले नै विदेशी कोच खोज्नेभन्दा पनि खेलाडीले मिहिनेत गर्नुपर्यो । उनीहरूले क्याम्पको मात्र भर परेर हुँदैन । घर जाँदा पनि मिहिनेत गर्नुपर्यो । मिहिनेत गर्ने हो भने विदेशी होइन, स्वदेशी कोचले पनि हुन्छ । पहिले फिटनेस र फिल्डिङ सुधार्नुस् । विदेशी ल्याउँदैमा दुई–चार दिनमा फिटनेस सुध्रिँदैन । घर गएपछि मिहिनेत नगर्ने, सुतेर खाएर बस्ने, अनि यहाँ आएपछि विदेशी कोच खोज्ने ? उनीहरूले पनि पर्फमेन्स दिनुपर्यो नि त । विदेशी कोच मात्र होइन, यस्तो पाराले त पशुपतिनाथलाई कोच बनाए पनि केही हुनेवाला छैन ।’
कटुवालको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा निकै चर्चा पाइरहेको छ । क्रिकेट समर्थकहरु उनको समर्थन र विरोधमा बाँडिएका छन् ।
कटुवाललाई एक वर्ष अगाडि मात्रै क्यानले महिला क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त गरेको थियो । उनको करार अवधि डिसेम्बरमा समाप्त भइसकेको छ । क्यान स्रोतका करार नविकरण भएको छैन ।
स्रोतले भन्यो, ‘डिसेम्बरमा क्यानको सबै कर्मचारी र स्वदेशी प्रशिक्षकको करार समाप्त हुन्छ । मार्चसम्म स्वत एक्सटेन्सन हुने व्यवस्था छ । त्यसपछि प्रशिक्षकको विषयमा आवश्यक निर्णय लिनेछौं ।’
प्रशिक्षक कटुवालको सम्झौता नविकरण गर्ने वा नगर्ने कुरा बोर्ड बैठकबाट टुंगो लाग्ने स्रोतले बताएको छ ।
नेपाली राष्ट्रिय पुरुष टीमबाट ६ वर्ष विकेटकिपरका रुपमा खेलेका कटुवाल पछिल्लो समय घरेलु क्रिकेटमा सफल प्रशिक्षकका रुपमा दरिएका थिए । उनले नेपाल पुलिस क्लबलाई काठमाडौं मेयर कप र प्रधानमन्त्री कपलगायत आधा दर्जनभन्दा बढी घरेलु प्रतियोगितामा उपाधि जिताएका छन् ।
पीपीएलको दोस्रो संस्करणमा चितवन राइनोजका प्रशिक्षक रहेका कटुवालले टीमलाई अपराजित रहेर विजेता बनाए । कटुवालले नेपालको सिनियर र यु १९ दुवैको सहायक प्रशिक्षको भूमिका निभाएका थिए । २०१९ मा नेपालले मेरिलबोर्न क्रिकेट क्लव (एमसीसी) विरुद्ध प्रथम श्रेणी, एकदिवसीय र टि २० खेल्दा उनी सहायक प्रशिक्षक थिए ।
क्यानले सन् २०२३ को नोभेम्बरमा महिला राष्ट्रिय टीमको जिम्मेवारी कटुवाललाई सुम्पिएको थियो । महिला टीममा नयाँ प्रशिक्षकका रुपमा कटुवाल नियुक्त हुँदा नयाँ कप्तानको जिम्मेवारी इन्दु बर्माले पाएकी थिइन् । पछिल्ला अभिव्यक्तिहरुले मनोज र इन्दुको ट्युनिङ राम्रो नमिलिरहेको छनक पाइन्छ ।
कटुवालको प्रशिक्षणमा नेपाली महिला टीमले पहिलो प्रतियोगिताका रुपमा हङकङमा चार देशको एक दिवसीय सिरिज खेलेको थियो । उपाधि जित्ने लक्ष्य राखेको नेपालले ३ म्याच खेल्दा एक मात्र जित हासिल गरी तेस्रो स्थानमा रह्यो । नेपालले जापानलाई जितेको थियो भने तान्जानिया र हङकङसँग पराजित भएको थियो ।
सन् २०२४ को फेबु्रअरीमा नेपाल मलेसियामा आयोजित एसीसी प्रिमियर कपमा सहभागी भयो । उक्त प्रतियोगिताको समूह चरणमा नेपालले हङकङ, भुटान र माल्दिभ्सलाई हराएर समूह विजेता भयो । क्वाटरफाएनलमा कुवेतलाई हराएको नेपाल सेमिफाइनलमा मलेसियासँग पराजित हुँदै उपाधि होडबाट बाहिरियो ।
गत जुलाइमा नेपालले महिला एसिया कपमा भाग लियो । सो प्रतियोगितामा नेपालले युएइलाई हरायो भने पाकिस्तान र भारतसँग सहजै पराजित भयो । यसपछाडि नेपालले घरेलु मैदानमा चारदेशीय सिरिज खेलेको हो, जसमा निराशाजनक परिणाम हात पारेको छ । नेदरल्यान्ड्स र थाइल्यान्डसँगको सिरिजमा ६ खेल खेल्दा नेपालले एक जित पनि हात पार्न सकेन ।