संकटालाई हराउँदै सिक्किमको थन्डरबोल्ट युनाइटेड क्वाटर फाइलनमा


पोखरा । पोखरामा जारी २४ औं आहा रारा पोखरा गोल्डकपमा सिक्किमको थन्डरबोल्ट युनाइटेड क्वाटर फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको प्रिक्वाटर फाइलनमा संकटा क्लबलाई ३-१ गोलले पराजित गर्दै थन्डरबोल्ट युनाइटेड क्वाटरफाइलनमा प्रवेश गरेको हो ।
सुरुआती अग्रता जोगाउन नसक्दा ३ पटकको विजेता संकटा पहिलो खेलबाटै घर फर्किनुपर्यो । खेलको १७औं मिनेटमा गोल गर्दै संकटाका मनिष पौडेलले टिमलाई अग्रता दिलाएका थिए ।
तर, ३५औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै थन्डरबोल्ट युनाइटेडले खेल बराबरीमा पुर्यायो । संकटाले डिबक्सभित्र विपक्षी टोलीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीमा थन्डरबोल्टका तालाले सहजै गोल गरे । त्यसपछि पहिलो हाफमा दुवैतर्फबाट कुनै गोल भएन ।
दोस्रो हाफमा भने थन्डरबोल्टले दुई गोल थप्दै जित दर्ता गर्यो । खेलको ७७औं मिनेटमा थन्डरबोल्टका करण राईले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि ८९औं मिनेटमा थन्डरबोल्टका खेलाडीले गोल गर्दै अग्रता दोब्बर बनाए ।
थन्डरबोल्टका आदर्श तामाङले गोल गर्दै टोलीलाई सहज स्थितिमा पुर्याए । त्यसपछि दुवैतर्फबाट कुनै गोल हुन सकेन र थन्डरबोल्ट ३–१ ले विजयी भयो । अब थन्डरबोल्टले सेमिफाइलन प्रवेशका लागि उज्वेकिस्तानको ब्लाक बुल्स फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।
सहारा क्लब पोखराको आयोजनामा भइराखेको उक्त प्रतियोगिताअन्तर्गत भोलि शनिबार पहिलो क्वार्टरफाइलनको खेल हुनेछ । उक्त खेलमा ब्रिजेड ब्वाइज क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।