वीपी प्रतिष्ठानमा महिलाको डिम्बासयबाट निकालियो झण्डै १९ किलोको ट्युमर – Nepal Press

वीपी प्रतिष्ठानमा महिलाको डिम्बासयबाट निकालियो झण्डै १९ किलोको ट्युमर

काठमाडौं । कोशी प्रदेशको धरानस्थित वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा झण्डै १९ किलोको ट्युमर निकालिएको छ ।

अस्पतालका सहप्रबक्ता डा.अभिजीत कुमारले दिएको जानकारी अनुसार प्रतिष्ठानमा एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेन्टिमिटर आकारको ट्युमर शल्यक्रिया गरि सफलतापूर्वक निकालिएको छ । ती महिला मोरङ जिल्लाकी ३९ वर्षको भएको बताइएको छ ।

उक्त शल्यक्रिया प्रतिष्ठानको गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा सर्जन डा. रमेश श्रेष्ठको नेतृत्वमा भएको हो ।
चार महिनादेखि हिड्डुल गर्न, खान र श्वास प्रश्वासमा कठिनाई भोग्दै आएकी तथा आर्थिक स्थित नाजुक भएकी ती महिला आफ्नाे उपचारको लागि विराटनगर, भरतपुर लगायत पोखरासम्म पुगेकी थिइन् ।

तर, आर्थिक अभावका साथै शल्यक्रियाको जटिलताका कारणले उनको शल्यक्रिया हुन नसकेकोले अन्त्यमा उपचारको आशा बोकी यस प्रतिष्ठानमा आएको कुरा उनका श्रीमानले बताएका थिए । महिलाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै विभागीय प्रमुख प्रा.डा. अचला ठाकुरको सिफारिशमा प्रतिष्ठानले सबै परीक्षणहरु, बेड चार्ज तथा शल्यक्रियाको निःशुल्क व्यवस्था गरेको थियो ।

यस प्रकारको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नमा डा. श्रेष्ठ लगायत उक्त विभागकी प्रा.डा. प्रिथा बस्नेत, डा. सन्तोष कुमार झा, डा. रिचा भट्टराईको संलग्नता रहेको थियो । त्यसैगरी, एनेस्थेसियोलोजी विभागबाट डा. योगेश ढकाल तथा व टिमको संलग्नता रहेको थियो भने नर्सको तर्फबाट सुजाता राई लगायत टिमको संलग्नता रहेको थियो ।

सामान्यतया डिम्बाशयको ट्युमर भन्नाले महिलाहरुमा प्रजनन् अंगको रुपमा रहेको डिम्बाशयको कोषिका अनियन्त्रित रुपमा बढ्दै जानु हो । महिलाहरुमा सामान्यतया यो डिम्बाशय पाठेघरको माथिल्लो भागको दाँया र बाँया दुवै भागमा टाँसिएर रहने बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर