छायाँ सेन्टर अगाडि मध्यरात भएको लफडाः प्रहरीमाथि यसरी भयाे हमला – Nepal Press

छायाँ सेन्टर अगाडि मध्यरात भएको लफडाः प्रहरीमाथि यसरी भयाे हमला

काठमाडौं । बिहीबार मध्यरात ठमेलमा दुई प्रहरी निर्घात कुटिए । उनीहरुलाई मदिरा सेवन गरेका विद्यार्थी नेताहरूले कुटेको प्रहरीले बताएको छ ।

प्रहरी वृत्त दरबारमार्ग अन्तर्गतको केशरमहल बिटबाट खटिएको क्युआर (क्विक रेस्पोन्स टीम) टोलीका प्रहरीहरुमाथि आक्रमण भएको हो । घाइते प्रहरीहरुको वीर अस्पतालस्थित ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ । आक्रमणकारीहरु शुक्रबार दिनभर बेपत्ता छन् ।

अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियू सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको समूह छायाँ सेन्टर अगाडि मध्यरात होहल्ला गर्दै पुगेका थिए । त्यहाँ ड्युटीमा रहेका प्रहरीले उनीहरूलाई सम्झाउन खोज्दा उल्टै कुटाइ खाएकाे प्रहरीले बताएकाे छ ।

प्रत्यक्षदर्शी एक प्रहरीका अनुसार नेता जोशीले ‘हामीलाई अर्ती दिने तिमीहरू को हौ ?’ भन्दै शुरूमा प्रहरी हवल्दार जगुलाल घर्तीमाथि आक्रमण गरेका थिए । सँगै रहेका जवान नगेन्द्रराज विष्टले प्रतिवाद गर्न खोज्दा उक्त समूहका अन्य व्यक्तिले उनीमाथि हातपात गर्न थाले । औंलाले विष्टको आँखा घोचेका कारण अहिलेसम्म उनको आँखा राम्रोसँग नखुलेको ती प्रहरीले बताए ।

विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

‘प्रहरीले सम्झाउने बाहेक अरु केही गरेका थिएनन्, तर विद्यार्थी नेताहरूले सम्झाएकै कारण प्रहरीमाथि अन्धाधुन्ध हातपात गर्नुभएको थियो’, बोहराले भने, ‘उहाँहरूले न्यूनतम मानवीय मर्यादा पनि ख्याल नगरी हातपात गर्नुभएको बुझिन्छ, अन्य कुराको अनुसन्धान हुँदैछ ।’

घाइते प्रहरीद्वयको जाहेरीले उनीहरूमाथि मुद्दा चलाइने भएको छ । घटनालगत्तै फरार रहेका जोशी, सिग्देलसहितका विद्यार्थी नेताहरू प्रहरीको खोजीमा छन् । उनीहरुको खोजीमा खटिएको प्रहरीले लुकेको स्थान पहिचान गरिसकेको र छिट्टै पक्राउ गरिने बोहराले बताए ।

यो पनि पढ्नुहोस्- विद्यार्थी नेताद्वारा प्रहरी कुटिए, दुई गम्भीर घाइते


प्रतिक्रिया

One thought on “छायाँ सेन्टर अगाडि मध्यरात भएको लफडाः प्रहरीमाथि यसरी भयाे हमला

Leave a Reply

Your email address will not be published. Required fields are marked *