हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली – Nepal Press

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली

मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा किसानले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ ।

मुगुसहित हिमाली जिल्लाका किसानहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका विरुवा सुक्न थालेका छन् । खडेरीका कारण बाली नउम्रेर जग्गा खाली भएको र उमे्रको अन्नबाली खेतबारीमै सुक्न थालेको किसानहरुले बताएका छन् ।

विगतका वर्षहरुमा पुस-माघ महिनामा धेरै हिउँ पर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो, तर यस वर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित वनजङ्खलसमेत सुख्खा भएका छन् ।

सिंचाइका लागि कुलो नहर नभएको, खेतीयोग्य जमिन सबै आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेको छ । हिउँ पानी नपर्दा बाली नफस्टाउने भएकाले भोकमरी हुनसक्ने सम्भावना रहेको छायाँनाथ रारा नगरपालिका-९ मुर्माका किसान बिर्खबहादुर रोकायाले बताए ।

मुगु जिल्लामा १ हजार ७८५ हेक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन लगाएको अन्नबालीमध्ये ७० प्रतिशतभन्दा बढी आकाशे हिउँपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

विगत तीनचार वर्षयता बेलामौका पानी नपरेकाले समस्या भोग्दै आएका किसानहरु यस वर्ष माघ महिनाको तेस्रो साता बितिसक्दा पनि हिउँ र पानी नपर्दा किसान तनावमा छन् ।

सरकारले साना सिंचाइका कार्यक्रम सञ्चालन गरे पनि त्यो अपुग भएको छ । विशेषगरी पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण हिउँ-पानी नपरेको, पानीका मुहानहरु सुक्दै गएकाले कृषकलाई समस्या भएको जिल्ला कृषि विकास कार्यालय मुगुका कृषिप्रचार अधिकृत तथा सूचना अधिकारी अनुजकुमार मण्डलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *