प्रचण्डलाई रिमालको जवाफ- शेरा दरबारमा फलेको हरियो मकै खाएको फोटो सार्वजनिक नै छ – Nepal Press

प्रचण्डलाई रिमालको जवाफ- शेरा दरबारमा फलेको हरियो मकै खाएको फोटो सार्वजनिक नै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले शेरा दरबारको जग्गा प्रकरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् । हिजो सदनमा बोल्दै प्रचण्डले शेरा दरबारको जग्गा प्रकरणमा आफ्नो संलग्नता भए छानबिन गर्न चुनौती दिएका थिए ।

प्रचण्डले भनेका थिए, ‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ?’

प्रचण्डले आफू वाइडबडी, गिरीबन्धु, यति र ओम्नीको चर्चा नगर्ने भन्दै भनेका थिए, ‘सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानबिन सुरू गरौं र मबाट सुरू गरौं ।’

प्रचण्डको यो चुनौतीपछि एमालेका उपमहासचिव समेत रहेका रिमालले भनेका छन्, ‘शेरा दरबारको जग्गामा फलेको हरियो मकैको खाजा सगर्व खाएको प्रसंगसहित तपाईंकै परिवारका सदस्यले पोस्ट गरेको फोटो त सार्वजनिक नै छ नि हैन र ?’

उनले सीआईबीको छानबिनपछि अहिले शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउने प्रक्रियामा रहेको बताएका छन् ।

उनले प्रचण्डलाई भनेका छन्, ‘संसदमै प्रश्न उठाउनु भएकोले मात्र यति जानकारी दिएको हो है ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर