मौलिक स्वादको चटपट बेचेर मासिक ७० हजारको व्यापार – Nepal Press

मौलिक स्वादको चटपट बेचेर मासिक ७० हजारको व्यापार

सुर्खेत । दिउँसो १ बज्नै लाग्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर- ८ को धमला चोकमा चहलपहल बढ्न थाल्छ । यहाँका सडक किनारमा ठेलाहरू ठडिन थाल्छन्, जसमध्ये एउटा ठेला विशेष रूपमा चर्चित छ- बिजु रोकायाको चटपटे ठेला ।

बिजु जुम्ला सिजा गाउँपालिका- ५ की मूलवासी हुन् । जीवनयात्राले उनलाई सुर्खेतसम्म ल्यायो, जहाँ उनले संघर्ष गर्दै आफ्नो परिवारको जीविकोपार्जनमा सघाउँदै आएकी छन् । उनी आफैं आत्मनिर्भर बनेकी छिन् ।

उनका श्रीमान् विगत १३ वर्षदेखि जडीबुटी सङ्कलन गरेर भारतसम्म पु¥याउने काम गर्छन् । श्रीमानले हिङ, शिलाजितलगायत जडीबुटीको मौसमी व्यापारले परिवार पाल्न धौ धो थियो ।

‘श्रीमानको आम्दानीमात्र पर्याप्त थिएन, त्यसैले तीन वर्षअघि चटपटे व्यवसाय सुरु गरें’, बिजु भन्छिन् ।

बिजु जब सुर्खेत झरिन्, तब काम गर्नुपर्छ भन्ने उनको कुनै योजना थिएन । पहिला उनी घरायसी काममै व्यस्त भइन् र घरकै काममा सीमित रहनुपर्ने सोच राख्थिन्, तर समय बित्दै जाँदा उनले घरपरिवारको राम्रो गुजारा गर्न महिलाले पनि घर बाहिर काम गर्नुपर्छ भन्ने सोच राखिन् । उनमा विश्वास थियो- महिलाले पनि घरबाट बाहिर निस्केर पैसा कमाउन सक्छन् । ‘यही सोच र विश्वासले मलाई व्यवसाय गर्न उत्प्रेरित गर्‍यो’, बिजु भन्छिन् ।

तीन वर्षअघि उनले एउटा सानो ठेलामा चटपटे बेच्न थालिन् । सुरुमा उनलाई ग्राहक नआउलान् कि भन्ने डर थियो । ‘तैपनि कस्तो चटपटे बनाउँदा ग्राहकहरू मेरोमा आउँछन् त भन्ने सोच पनि सँगसँगै आउँथ्यो’, उनी भन्छिन्, ‘अनि अरुभन्दा फरक र विशेष स्वादमा चटपटे बनाउन ध्यान दिएँ, जसलाई ग्राहकहरुले मनपराए । मैले अन्त ध्यान दिनै परेन ।’

उनका अनुसार बिजु चटपटेमा स्थानीय मसला मिसाउँछिन्, जसले गर्दा उनको चटपटे अरुको भन्दा फरक र विशेष स्वादको हुन गयो । अहिले उनको भिन्ने स्वादको चटपटे खान आउने ग्राहकहरूको संख्या बढ्दै गएको छ ।

‘अहिले दिनमा ३०-३५ जना नियमितजसो आउनुहुन्छ । बिदाको दिनमा ५०-६० जना पनि पुग्नुहुन्छ’, बिजु भन्छिन्, ‘सुरुमा त सोचेको थिइनँ, चटपटे बेचेर पनि राम्रो आम्दानी हुन्छ भनेर । अहिले महिनामा झन्डै ७० हजार रुपैयाँको कारोबार गर्छु ।’

उनले चटपटे व्यवसायबाट भएको कमाइले दुई छोरा र एक छोरीको शिक्षादीक्षामा धेरै टेवा पुगेको बनाइन् । सँगै घर खर्च पनि धान्दै आएको उनको भनाइ छ ।

‘पहिले श्रीमानको आम्दानीमै भर पर्थें’, उनी भन्छिन्, ‘तर चटपटे व्यवसाय गर्न थालेदेखि उहाँसँग पैसाको लागि भर पर्नुपरेन । अब त आफूले कमाएको पैसाले नै घर चलाउन सक्छु ।’

उनको चटपटेको मूल्य २० रुपैयाँदेखि माथि छ, जुन ग्राहकको रोजाइअनुसार फरकफरक स्वादमा तयार गरिन्छ ।

अहिले बिजुको व्यवसायमा उनका छोराहरुले पनि सकेको सघाएका छन् । छोराहरूले ठेला घरबाट धमला चोक र धमला चोकबाट घर ल्याउन र पुर्‍याउने काममा सघाउँदै आएका छन् ।

‘अहिले त छोराहरूले पनि सहयोग गर्न थालेका छन् । म निकै खुसी छु’, उनी भन्छिन्, ‘उनीहरूले सानो उमेरमै आमाको संघर्ष देखेका छन्, जसले गर्दा उनीहरूलाई पनि श्रमको महत्व थाहा भए जस्तो लाग्छ । भविष्यमा उनीहरुले पनि परिश्रम गर्नेछन् भन्ने लाग्छ ।’

कर्णाली प्रदेशमा अझै धेरै महिला घरकै काममा सीमित छन्, तर बिजुले इच्छा शक्ति भए महिलाले घर बाहिर पनि काम गर्न सक्छन् र सफलता पाइन्छ भन्ने प्रमाणित गरेकी छन् ।

‘महिला पनि आर्थिक रूपमा स्वतन्त्र हुनुपर्छ’, उनी कडा सुनिन्छिन्, ‘मेरै जस्तै अरू महिलाहरूले पनि कुनै न कुनै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ ।’

बिजुकहाँ फरक स्वादको चटपट पाउने भएकाले उनका ग्राहकहरू उनको ठेला धमला चोकमा कहिले आइपुग्छ भने ग्राहकहरू पर्खिरहेका हुन्छन् ।

उनकी एक नियमित ग्राहक विष्णु रोकाया पनि बिजुको चटपटको तारिफ गर्छिन् । ‘बिजु दिदीको चटपटे निकै मनपर्छ’, उनले भनिन्, ‘सुरुमा साथीहरूसँग खाएका थियौं, त्यसपछि त म एक्लै पनि नियमितिजसो आउन थालें । उहाँको चटपटको स्वाद अरू ठाउँभन्दा फरक छ, मौलिक छ ।’

ग्राहकले आफ्नोबारे गरेको तारिफ सुनेर बिजु मुस्कुराउँदै भन्छिन्, ‘म केवल चटपटे बेच्दै छैन, म आफ्नो भविष्य पनि बनाउँदैछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर