नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको तयारी पुरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको १२औँ महाधिवेशनको तयारी पुरा भएको छ । संगठनले शुक्रवार बिहान पत्रकार सम्मेलन गर्दै माघ ३० र फागुन १ गतेका लागि तय भएको महाधिवेशनको तयारी पुरा भएको जनाएको हो ।
१२औ महाधिवेशनलाई भव्य, सभ्य, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्न निमन्त्रणा तथा अतिथि सत्कार, प्रतिवेदन तथा विविध प्रस्ताव तयारी, आवास व्यवस्थापन, प्रचार प्रसार, खाना खाजा व्यवस्थापन, सांस्कृतिक कार्यक्रम तयारी, सामग्री व्यवस्थापन, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन र स्वास्थ्य उपचार व्यवस्थापन लगायतका १० वटा उपसमिति गठन गरी आन्तरिक काम तीव्र गतिमा भइरहेको संगठनका अध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।
महाधिवेशनमा पेसागत महासंघ नेपाल लगायत पेसागत महासंघ नेपालसँग आबद्ध सार्वजनिक प्रशासनका क्षेत्रमा क्रियाशील २६ वटा घटक संस्था, निजामती क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियन र भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, कम्बोडिया लगायत १० भन्दा बढी देशका सार्वजनिक प्रशासनको क्षेत्रमा क्रियाशील विदेशी भाइचारा संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएकोमा संगठनले जनाएको छ ।
संगठनको १२औँ महाधिवेशनमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्य, जिल्ला र विभागीय तथा प्रदेश कार्य समितिका अध्यक्ष र जिल्ला तथा विभागीय अधिवेशनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि सहित करिब ८०० जना उपस्थित रहने अध्यक्ष कोइरालाले जानकारी दिए ।
महाधिवेशनमा संघीय निजामती सेवा ऐन र ऐनले प्रभाव पार्ने सबै प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐनका बारेमा व्यापक छलफल तथा अन्तरक्रिया गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने गरी संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न र आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न सरकारसँग माग प्रस्तुत गरिने जनाइएको छ । महाधिवेशनले आगामी ३ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्ने गरी सिङ्गो संगठन परिचालन भएको छ ।