अन्तिम खेलमा सान्त्वना जितको खोजीमा नेपाल, उपाधि खाेजीमा थाइल्यान्ड
नेपाल टस जितेर पहिले ब्याटिङ गर्दै


काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तर्गत आज आफ्नो अन्तिम खेलमा नेपाल थाइल्यान्डविरुद्ध भिड्दैछ । प्रतियोगितामा ५ खेल खेल्दा सबैमा पराजय व्यहोरेको नेपालका लागि यो सान्त्वना जितको अवसर हो ।
नेपालले यसअघि नेदरल्यान्ड्ससँग ३ र थाइल्यान्डसँग २ म्याच खेल्दा कुनै पनि जित निकाल्न सकेन । उपाधि होडबाट बाहिरिइसकेको अन्तिम खेलमा सुखद नतिजा निकाल्न आतुर छ । यद्यपि, उपाधि दावेदार थाइल्यान्ड नेपालका लागि सहज टीम होइन ।
आजको खेल नेपालको लागि प्रतिष्ठाको मात्र विषय भए पनि थाइल्यान्ड र नेदरल्यान्ड्सको उपाधि भिडन्त पनि हो । थाइल्यान्डले नेपाललाई हराए उपाधिमा कब्जा गर्ने छ । तर, नेपालले थाइल्यान्डलाई हराएको खण्डमा रन रेटको आधारमा थाइल्यान्ड र नेदरल्यान्ड्समध्ये एक विजेता हुनेछन् ।
अहिले अंक तालिकामा थाइल्यान्ड र नेदरल्यान्ड्सको समान अंक छ । नेदरल्यान्ड्सले सबै ६ म्याच खेल्दा ४ जित र दुई हारको नतिजा निकाल्यो । दुई म्याचमा नेदरल्यान्ड्सले थाइल्यान्डसँग हारेको हो । थाइल्यान्डले ५ म्याच खेल्दा ४ जित र एक हार व्यहोर्यो । एक हार नेदरल्यान्ड्सँग हो । अहिले थाइल्यान्डको रन रेट पनि राम्रो छ । नेपालले ठूलो अन्तरले थाइल्यान्डलाई हराए मात्र नेदरल्यान्ड्सले उपाधि जित्न सक्ने देखिन्छ ।
टस जितेर नेपालकी कप्तान इन्दु बर्माले पहिले ब्याटिङ रोजेकी छन् । पीच ब्याटिङका लागि अनुकुल ठानेर उनले पहिलो ब्याटिङको निर्णय लिएकी हुन् । नेपालकाे टिममा राजमती ऐरीले डेब्यू गरेकी छन् । ममता चौधरीको स्थानमा उनलाई राखिएको हो ।