करिब सात करोड लगानीमा नेपालमै पहिलोपटक तिलोत्तमा क्रिकेट मैदानमा फ्लड लाइट जडान सुरु – Nepal Press

करिब सात करोड लगानीमा नेपालमै पहिलोपटक तिलोत्तमा क्रिकेट मैदानमा फ्लड लाइट जडान सुरु

रुपन्देही । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट सञ्चालित क्रिकेट स्टेडियममा करिब सात करोड लगानीमा फ्लड लाइट जडान थालिएको छ । रुपन्देहीको तिलोत्तमा एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा शनिवारदेखि फ्लड लाइट जडानको काम सुरु हुने भएको छ ।

स्टेडियमका प्रबन्धक निर्देशक विनोद कुँवरले शुक्रवार बिहान बुटवलमा पत्रकार सम्मेलन गर्दै शनिबारदेखि लाइट जडान सुरु हुने जानकारी दिए ।

‘स्टेडियममा फ्लड लाइट जडानको काम हुन गइरहेको म जानकारी गराउन चाहन्छु, जुन नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण पहिलो हुनेछ । अबको एक महिनाभित्र फल्ड लाइटपूर्ण रूपमा जडान भई डे नाइट म्याच खेलाउन सकिने यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’ कुँवरले भने ।

नेपालमै पहिलो पटक रातिमा खेल्न मिल्नेगरी लाइट जडान हुने उनले बताए । लाइट जडान गर्न मात्र करिब ७ करोड लगानी लाग्ने उनले बताए ।

२०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियम ०८० फागुनमै खेल्न योग्य मैदान तयार भएर फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी भव्यतापूर्वक सम्पन्न सकेको छ ।

यो मैदानमा गत वर्षको फागुनयता एक सय भन्दा बढी खेल भैसकेका छन् । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो ।

भारतबाट पनि केही क्लबस्तरीय टीम आएर खेलेको उनले बताए । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने काम भइरहेको उनले बताए ।

’मैदानका साथसाथै अरू भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ। चार–चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स चेजिङ रुम र मिडिया बक्ससहित बनाइरहेका छौँ । अहिले तेस्रो तलाको काम भइरहेको छ तत्काल कुनै प्रतियोगिता आयोजना भए भीआईपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा हामी छौँ,’ उनले भने, ’यसपछि हामी प्याराफिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने छौँ ।’

अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका– १७ मा निर्माणाधीन एक्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर