बझाङका अभिभावक भन्छन्- मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्यो – Nepal Press

बझाङका अभिभावक भन्छन्- मोबाइल र सामाजिक सञ्जालका कारण बालविवाह बढ्यो

बझाङ । पछिल्लो समयमा बझाङमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएको अभियन्ता तथा अभिभावकहरूको भनाइ छ ।

आधारभूत तहदेखि नै बालबालिकाको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दुरुपयोग गर्दा यो समस्या निम्तिएको अभिभावकहरूले बताएका हुन् ।

वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, प्रगतिशील युवा समाजको साझेदारी र केदारस्युँ गाउँपालिकाले आयोजना गरेको रेडियो कार्यक्रम ‘बालकचहरीमा’ बोल्दै अभिभावकहरूले यस्तो बताएका हुन् ।

उनीहरूका अनुसार, आजको प्रविधि युगमा मोबाइल फोन र इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक अवस्था र भविष्यमा गम्भीर असर पुर्‍याइरहेको छ । जसका कारण बालबालिकाहरूलाई बालविवाह जस्तो असहज निर्णयहरू गर्न बाध्य पारिरहेको छ ।

केदारस्युँ गाउँपालिका- ३ का स्थानीय हर्क बहादुर विष्ट भने, ‘मोबाइल र सामाजिक सञ्जालका कारण बालबालिकामा असुरक्षाको भावना बढेको छ । उनीहरूको सोचमा गडबडी ल्याएको छ । परिणामस्वरूप, उनीहरूलाई जिम्मेवार निर्णय लिन कठिन भइरहेको छ, र बालविवाहजस्ता समस्यामा फसिरहेका छन् ।’

नमादेव माध्यमिक विद्यालयका शिक्षक किरण गुरुधामीले पनि यो समस्या स्वीकार गर्दै भने, ‘विद्यालयमा पढ्ने बच्चाहरूको ध्यान सामाजिक सञ्जालमा बढी केन्द्रित छ । यसले उनीहरूको पढाइमा र भावनात्मक विकासमा असर पुर्‍याउँदै आएको छ । बालविवाह जस्ता घटनाको रोकथामका लागि सबैको प्रयास आवश्यक छ ।’

सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरू पनि भागेर जाने गर्दा झनै समस्या भएको केदारस्युँ गाउँपालिका- ३ का वडा स्तरीय बालक्वलवका अध्यक्ष उमेश खातीले बताए । उनले भने, ‘पछिल्लो समय सामाजिक कामहरूमा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।’

गाउँमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरू भाग्ने चलन बढिरहेको नमादेव माध्यमिक विद्यालयकी बालक्वलबकी अध्यक्ष निर्मला खातीले बताइन् । अब बालबालिकालाई १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्ने गरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने खातीको भनाई छ ।

कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिका-३ कि स्थानीय सिता खातीले पनि आफ्ना विचार व्यक्त गर्दै भनिन्, ‘समाजमा अब हामी यो समस्या देखिरहेका छौँ कि बालबालिकाहरू सामाजिक सञ्जालमा समय बिताउँदा त्यहीबाट कुरा गरेर भागेर बालविवाह बढ्दो क्रममा छ । पहिले हाम्रो पालामा मोबाइल थिएन । यस्तो थिएन अहिले प्रविधिका कारण बालविवाहको अवस्था झन् बढ्न थाल्यो ।’

समाजका बालबालिका र किशोरीहरू मोबाइल र सामाजिक सञ्जालका कारण मानसिक र भावनात्मक दबाबको सिकार भएको केदारस्युँ गाउँपालिका–३ का वडाअध्यक्ष वीर बहादुर खातीले बताए ।

उनले भने, ‘यसका कारण बालविवाह र अन्य सामाजिक समस्यामा वृद्धि भएको छ । हामी सबैले यस समस्यामा एकजुट भएर काम गर्नुपर्छ । हामी गाउँमा विशेष जागरूकता अभियान चलाउने छौँ र पालिका सरकारसँग पनि यस समस्यालाई गम्भीरतासाथ लिन अनुरोध गर्नेछौँ । यसरी मात्र हामी बालविवाह र अन्य सामाजिक समस्याहरूलाई कम गर्न सक्नेछौँ ।’

केदारस्युँ गाउँपालिका-३ ले भने बालमैत्री स्थानीय शासन लागू भएको वडा घोषणा गर्ने तयारी गरेको छ। जसमा ५१ वटा सूचकमध्ये शून्य बाल विवाह पनि पर्छ। अहिले वडाभित्र रहेका विभिन्न विद्यालयमा पुगेर बाल विवाह न्यूनीकरणसम्बन्धी विशेष अभियान सञ्चालन भइरहेको समेत वडाअध्यक्ष खातीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर