प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने रणनीतिमा देउवा, ०८४ को चुनावपछि कि अघि ? – Nepal Press

प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने रणनीतिमा देउवा, ०८४ को चुनावपछि कि अघि ?

देउवा निकट नेताहरु एकपछि अर्को बोल्न थालेपछि शेखरपक्ष सशंकित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १५ औं महाधिवेशनपछि पार्टी नेतृत्वबाट बिदा हुँदैछन् । विधानअनुसार दुई पटकभन्दा बढी नेतृत्व गर्न नपाउने व्यवस्था भएकाले उनकाे बहिर्गमन वाध्यात्मक बनेकाे हाे ।

तर, कांग्रेस १५ औं महाधिवेशन र नेतृत्वबारे मौन छ । इतर पक्षका नेता डा. शेखर कोइराला महाधिवेशन निर्धारित समयमै गराउन पार्टी नेतृत्वलाई दबाब बढाउने रणनीतिसाथ अहिले देश दौडाहमा छन् ।

नियमित समयमा महाधिवेशन गर्दा ०८२ मंसिरभित्र भइसक्नुपर्छ । तर, पार्टीको विधानअनुसार थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान छ । त्यसमा संविधानलाई टेकेर ६ महिना पर धकेल्नसक्ने सुविधा देउवालाई छ ।

देउवाले महाधिवेशनबारे मुख खोलिसकेका छैनन् । उनीनिकटका नेताहरूले भने आगामी महाधिवेशन ०८४ को चुनावपछि मात्रै गर्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् । देउवाको उत्तराधिकारी बन्ने दौडमा रहेका डा. शशांक कोइराला, पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काले सार्वजनिकरूपमै आगामी निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

कोइरालाले पुस १६ गते चितवन पुगेर भनेका थिए, ‘०८४ मा आमनिर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ ।’ देउवाको आशय पनि त्यही बुझेको उनको भनाइ थियो ।

२८ गते दाङमा पनि उनले सभापति देउवाले चुनावी सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि मात्रै महाधिवेशन गर्दा उपयुक्त हुने दोहोर्‍याए । चुनावको मुखमा महाधिवेशन गर्दा तिक्तता पैदा भई पार्टीले क्षति व्यहोर्नपर्ने उनको बुझाइ छ ।

देउवानिकट नेताहरूबाटै एकपछि अर्को यस्तो अभिव्यक्ति आएपछि शेखर पक्ष भने झस्किएको छ । पार्टीमा महाधिवेशन चुनाव अघि कि पछि भन्ने बहस चलिरहेको बेलामा महामन्त्री गगन थापाले महाधिवेशन निर्धारित समयमै हुने दाबी गरे ।

उनको भनाइ थियो, ‘०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ । तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन । एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साढे ५ वर्षभन्दा अघि जान मिल्दैन ।’

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले निर्वाचनअघि महाधिवेशन गर्दा त्यसकोे तुष पर्नसक्ने भएकाले केही नेताहरूले बोल्न थालेको बताए ।

उनले भने, ‘०८४ को चुनावअघि गर्दा त्यसको आग्रह, पूर्वाग्रहको तुष निर्वाचनमा पर्नसक्छ त्यसैले चुनावपछि मात्रै गर्दा राम्रो हुन्थ्यो भन्ने कुरा केही नेताहरुले राख्नुभएको हो । तर त्यो लाइनमा पार्टी अघि बढेको छैन ।’

उनले पार्टी सभापतिको ०८३ मंसिरसम्मा महाधिवेशन गराउने आशय बुझेको बताए । देउवा निकट रहेका नेता विश्वकर्माको यो अभिव्यक्तिबाट प्रष्ट हुन्छ, प्रधानमन्त्री बनेपछि मात्रै महाधिवेशन गर्ने मूडमा छन् । एमालेसँग भएको सात बुँदे सहमतिअनुसार देउवा ०८३ असारमा प्रधानमन्त्री बन्दैछन् ।

उनले थपे, ‘सभापतिले चार वर्षमा महाधिवेशन भ्याइँदैन पाँच वर्षसम्म उता नलाने भन्ने छ । ०८४ मा चुनाव हुँदैछ, त्यसैले ०८३ मंसिरसम्ममा गर्दा भइहाल्छ नि भन्ने उहाँको कुरा छ ।’

उत्तराधिकारीबारे मौन

देउवाले आगामी महाधिवेशनबाट आफू नेतृत्वमा नआउने प्रष्ट बताइसकेका छन् । तर, उत्तराधिकारीबारे मौन छ ।

देउवापछि कांग्रेसको आगामी नेतृत्व सम्हाल्न उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, इतर समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह आकांक्षी देखिन्छन् ।

पछिल्लो समय गगनसहित अन्य नेता देउवाको आशीर्वाद पाउने लबिङमा देखेपछि शेखर आफ्नै तयारीमा दौडिँदै छन् । गएको महाधिवेशनमा देउवासँग हारेका शेखरले आफूलाई स्वाभाविक दाबेदार बनेर तयारी थाल्दा उही गुटबाट महामन्त्री जितेका गगन पछिल्लो समय देउवासँग नजिक देखिएका छन् ।

तर, उनले आफू कुनै गुट नभएर सिंगो कांग्रेसको हुने प्रयासमा रहेको बताए ।

पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै गगनले भने, ‘म अहिले कांग्रेसको महामन्त्री छु, १५ औं महाधिवेशन गराउनेतर्फ केन्द्रित छु । त्यसैले अहिले कुनै गुट नभइ सिंगो कांग्रेसको हुन चाहन्छु ।’ अहिले नै नेतृत्वबारे चर्चा गर्नुपर्ने बेला नभएको थापाको भनाइ छ ।

देउवा उत्तराधिकारीबारे कोइराला, निधि र सिंह निरन्तर संवादमा छन् । उनीहरूले यो मोर्चाबन्दीको अभ्यास १४ औं महाधिवेशनमा पनि गरेका थिए । तर, अन्तिममा देउवाकै सहयोगी बने ।

आगामी नेतृत्वबारे प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन्, ‘उहाँ (सभापति) ले अब लड्दिनँ भनिसक्नुभयो । अहिलेसम्म उहाँले कसैले उत्तराधिकारी तोक्नु भएको छैन । त्यसैले स्वस्थ हार्दिकताका साथ प्रतिस्पर्धा गर्नको लागि सबैलाई बाटो खुल्ला छ ।’

उनले अहिले सभापति र महामन्त्रीबीच कुनै समस्या नभएको पनि बताए ।

उनले भने, ‘महाधिवेशन सम्पन्न गराउनु त्यसैले सभापति र महामन्त्री नजिक हुनुभएको हो । महाधिवेशन गर्नको लागि उहाँहरुले मिलेरै काम गर्नुपर्छ । उहाँहरूबीचको विवाद अहिले सकिएको छ, मिलेर काम गर्नुभएको छ । यो परिस्थिति अझै अनुकूल बनोस् भन्ने चाहना पनि होला ।’

सभापतिले उत्तराधिकारी महामन्त्री थापालाई तोक्ने सम्भावना बढेको हो ? भन्ने जिज्ञासामा उनले भने, ‘सम्भावना नै नहुने भन्ने केही छैन । गगनजीलाई तोक्ने सम्भावना पनि रहन्छ नि । तर, परिस्थिति कसरी जान्छ भन्ने अहिलेको परिस्थितीले पछिको परिस्थितीलाई निर्माण गर्छ ।’

देउवाले आफू नेतृत्वबाट बिदा हुँदै गर्दा श्रीमती आरजू राणालाई व्यवस्थापन गर्न चाहेका छन् । त्यही रणनीतिमा अहिले ओली सरकारमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएको बताइन्छ ।

शेखर पक्षको आशंका

शेखर निकटका नेता सञ्जय गौतम ०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने अभिव्यक्ति आउनुले केही शंका उत्पन्न भएको बताउँछन् ।

उनले भने, ‘यो अभिव्यक्तिले केही शंका उत्पन्न भएको छ । तर, हामी अधिवेशन समयमै गर्नुपर्छ भन्ने पक्षमा छौं । त्यसले गर्दा कांग्रेस र मुलुकको पनि हित हुन्छ । कांग्रेसको महाधिवेशन समयमा भएन भने मुलुक ठूलो दुर्घटनातिर जाने सम्भावना बढ्छ ।’

उनले आफूहरू निर्धारित समयमै महाधिवेशन गर्नुपर्छ भन्ने अडानमा रहेको सुनाए ।

उनले थपे, ‘उहाँहरुले कुन आशयले राख्नुभयो त्यो कुरा विस्तारै खुल्दै जाला । तर, हामी विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ भन्ने अडानमा अहिलेपनि कायमै छौं । चार वर्षभित्रमै नभए केही समय महिनापछि जाला तर महाधिवेशन तोकिएकै समयमा गर्नुपर्छ । शेखर दाईले पनि यही कुरा राखिराख्नुभएको छ ।’

उनले देउवानिकट नेताहरुबाट यस्ता अभिव्यक्ति आउनले आशंका गर्ने ठाउँ रहेको बताए । गौतमले थपे, ‘सभापति निकटका व्यक्तिहरूबाटै आएको छ । हावा नचली पात त पक्कै हल्लिदैन हेरौं अब कसरी अगाडि बढ्छ ।’

‘चुनावपछि महाधिवेशन गर्ने कुरा अस्वीकार्य’

अर्का केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही पनि ०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने कुरा स्वीकार्य नहुने बताउँछन् ।

उनी भन्छन्, ‘यो विधान बाहिरको कुरा गरेर महाधिवेशनलाई प्रभावित पार्ने, कार्यकर्ताको मनोविज्ञानलाई विचलित बनाउने कुरा हो। समय परिस्थितिले कांग्रेसको महाधिवेशन ०८४ को चुनावअघि नै महाधिवेशन गर्नुपर्छ ।’

उनले अब बस्ने केन्द्रीय समितिको बैठकले क्रियाशिल सदस्यको विषयमा बाँकी काम टुंग्याएर महाधिवेशनको कार्यतालिका नै बनाउनुपर्ने बताए ।

स्नेहीले थपे, ‘हामी अहिले महाधिवेशनको चौथो वर्षमा प्रवेश गरिसकेका छौं । ०८४ को महाधिवेशनको परिकल्पना न विधानले गरेको छ, न परिस्थिति न कार्यकर्ताको मनोविज्ञानले गरेको छ । त्यो सोच्न पनि सकिँदैन ।’

तर, यो अभिव्यक्ति त सभापति नजिक भएका व्यक्तिहरुबाटै आउनुलाई कसरीले बुझ्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘उहाँहरूले पार्टीको विधान पक्कै पढेर बोल्नुभएको होला । समयको सीमा घर्केको पनि बुझ्नुभएकौ होला । के कारणले उहाँहरूले त्यो बोल्नुभएको हो उहाँहरुको बोलाइबाट नै त्यो कुरा पुष्टि होला । त्यसैले विधान र संविधानअनुसार पनि ०८४ को चुनावपछि महाधिवेशन गर्ने छुट छैन ।’

उनले नेतृत्वबारे महाधिवेशनकै टुंगो नलागी छलफल थाल्नु उपयुक्त नहुने बताए ।

‘अब हामी क्रियाशिल सदस्यता टुंग्याएर महाधिवेशनतिर केन्द्रित हुनुहुन्छ भन्नेमा छौं । विचारसहित अहिले अघि बढ्नुपर्छ नेतृत्वबारे महाधिवेशनसम्म पुग्दा भइहाल्छ नि !’ उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर