नेकपा एसकाे विद्यार्थी संगठनमा नयाँ नेतृत्व- आरतीकाे ठाउँमा महेश, पदाधिकारीमा अरू काे-काे ?


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । शुक्रबार अनेरास्ववियु केन्द्रीय कार्यालयको बैठकबाट अध्यक्षमा श्रेष्ठ र महासचिवमा राजन शर्मा चयन भएका छन् ।
यस अघि संगठनको अध्यक्ष रहेका आरती लामालाई पार्टीमा भुगोलको जिम्मेवारी दिएसँगै अध्यक्ष पद रिक्त भएको थियो । संगठनको उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, मेघनाथ चापागाई, किशोर टण्डन, डम्बर सिंह, राजकिशोर यादव, दिनेश लो, मिलन राई, भुपेन्द्र शाह र नरेश न्यौपाने चयन भएका छन् ।
अध्यक्ष र महासचिव एक एक तथा १० उपाध्यक्षसहित १२ पदाधिकारी चयन भए पनि त्यसभित्र महिला र दलित भने एक जना पनि चयन नभएको पाइएको छ । संगठनले थप पदाधिकारी बिस्तार गर्दा चयन गरिने जनाएको छ । यद्यपी यस अघि भने संगठनको अध्यक्ष नै महिला थिईन् ।
संगठनका पूर्व अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्चाल फेसबुकमार्फत विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने विश्वास सहित हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले अथक प्रयासबाट अनेरास्ववियूलाई पुर्णता दिने विद्यार्थी संगठनका ईन्चार्ज रामकुमारी झार्की, सह– ईन्चार्ज भिम राईलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।