दोस्रो विश्वविद्यालय खेलकुदमा त्रिभुवन विश्वविद्यालय च्याम्पियन


पोखरा । पोखरामा भएको दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय च्याम्पियन बनेको छ ।
पोखरा रंगशालामा बुधबार र बिहीबार भएको प्रतियोगितामा ८ विश्वविद्यालयलाई पछि पार्दै १३ स्वर्ण पदक जितेर त्रिभुवन विश्वविद्यालय च्याम्पियन बनेको हो । त्रिविले १३ स्वर्णसहित ९ रजत र ४ कास्य पदक जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो ।
९ पदक जित्दै काठमाडौं विश्वविद्यालय दोस्रो र ८ पदक जित्दै सुदूरपश्चिम विश्वविद्यालय तेस्रो बन्यो । समान ८ पदक जितको गण्डकी विश्वविद्यालय चौथो बन्दा ५ पदक जितेर मध्यपश्चिम पाँचौं, ५ पदक जितेर पोखरा छैटौं बन्न सफल रह्यो ।
समान दुई पदक जित्दै कृषि तथा वन विज्ञान सातौं र पूर्वाञ्चल आठौं बने । एक पदक जितेको लुम्बिनी बौद्ध विश्वविद्यालय अंक तालिकाको पुछारमा रह्यो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विश्वविद्यालयले समन्वय गरेको थियो ।
तेस्रो विश्वविद्यालय खेलकुद भने आगामी वर्ष कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा गर्ने निर्णयसमेत भएको छ ।