अदालतमा धरौटी राख्न भन्दै लालपूर्जा बोकेर आए रविका मतदाता (भिडिओ)
प्रभु बैंकको बैंक ग्यारेन्टीमा छुटे रवि


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ५४ लाख धरौटी मागेको छ । अहिले सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर रविलाई छुटेका छन् ।
चितवनमा पनि प्रभू बैंकले रविका लागि जमानत दिएको हो । यसअघि तीनवटै अदालतमा सोही बैंकले जमानत उपलब्ध गराएको थियो । बैंक ग्यारेन्टी प्रक्रिया सकिएपछि केही बेरमा रविलाई रिहा गरिने अदालत स्रोतले बतायो ।
यता रविका समर्थकहरुले उनको पक्षमा प्रदर्शन र नारावाजी गरिरहेका छन् । चितवन रविको निर्वाचन क्षेत्र पनि हो । उनले चितवन २ बाट सर्वाधिक मत ल्याएर दुईपटक चुनाव जितेका थिए । अहिले उनको समर्थनमा मतदाताहरु बाक्लो संख्यामा सडकमा निस्किएका छन् ।
प्रदर्शनमा सहभागी केही मतदाताहरुले आफ्नो घरजग्गाको लालपुर्जासमेत बोकेर आएको त्यहाँ उपस्थित रास्वपा नेता प्रमोद न्यौपानेले बताए ।
‘रविजीलाई मागिएको धरौटी वापत हाम्रो लालपूर्जा राखियोस भन्दै मतदाताहरु आउनुभएको छ,’ उनले भने, ‘कतिपयले चेक पनि बोकेर आउनुभएको छ ।’
भरतरपुका बासिन्दा नारायणप्रसाद ढकाल लालपुर्जा बोकेर आउनेमध्ये एक थिए । उनले रविविरुद्ध राज्यले ज्यादति गरेको भन्दै अदालतले मागेको धरौटीवापत लालपूर्जा राख्न तयार भएर आएको बताए ।
समर्थकहरुले ‘नडराउ रविदाई पूर्जा हाम्रो हातमा छ, अघि बढ रविदाई जनता तिम्रो साथमा छ’ भन्द्यै नारावाजी गरेका थिए ।