अष्ट्रेलिया पलायन भइन् सरस्वती चौधरी, एपीएफबाट बिदा हुँदा भावविह्वल – Nepal Press

अष्ट्रेलिया पलायन भइन् सरस्वती चौधरी, एपीएफबाट बिदा हुँदा भावविह्वल

एपीएफका प्रवक्ता भन्छन्- उतै बस्नेगरी गएकी हुन्, राजीनामा पत्र आइसकेको छैन

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी नम्बर १ स्पाइकर सरस्वती चौधरी विदेश पलायन भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ) बाट बिदा भएर उनी आज अष्ट्रेलिया उडेकी हुन् ।

एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा आज सानो कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा सरस्वती भक्कानिएकी थिइन् । विमानस्थलमा पनि उनलाई बिदाइ गर्न निरुता ठगुन्नालगायत भलिबल खेलाडीहरु पुगेका थिए ।

१७ वर्षको उमेरमा सरस्वती एपीएफमा आवद्ध भएकी थिइन् । उनले टीमलाई थुप्रै सफलताहरु दिलाएकी छन् । एपीएफले उपाधि जितेका प्रतियोगितामा उनकै मूख्य योगदान हुने गर्छ ।

क्लव भलिबलमा तहल्का मच्चाएकी सरस्वतीले सन् २०१४ मा राष्ट्रिय टीममा स्थान बनाएकी हुन् । नेपालमा आयोजित दक्षिण एसियाली आमन्त्रित भलिबल च्याम्पियनसीपमा माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलमा उनले पहिलोपटक राष्ट्रिय जर्सी लगाएकी थिइन् । त्यसयता उनले निरन्तर राष्ट्रिय टिमका लागि अहम् भूमिका निभाउँदै आएकी छन् ।

नेपालले बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि जित्दा सरस्वतीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपालले महिला भलिबलमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्णपदक थियो । नेपालमै भएको १३ औं सागमा पनि उनले आफ्नो उत्कृष्टता कायम राख्दै टीमलाई फाइनलसम्म पुर्याइन् । फाइनलमा नेपाल भारतसँग ३–२ ले चुकेको थियो ।

नेपालले पहिलोपटक भलिबलमा गत वर्ष भारतलाई हरायो । काभा भलिबल नेसन्स लिगको लिग चरणमा नेपालले भारतलाई ३–१ को सेटमा हराउँदा सरस्वतीकै प्रदर्शन निर्णायक थियो ।

सरस्वती नेपालको राष्ट्रिय महिला टीमकी खम्बा नै हुन् । ६ फिट १ इन्च अग्ली उनी कडा स्पाइकका लागि चिनिन्छन् । कैलालीको धनगढीमा जन्ीमएकी उनी १२ वर्षको उमेरदेखि भलिबलमा लागेकी थिइन् ।

स्रोतका अनुसार सरस्वती अष्ट्रेलियामै सेटल भइसकेकी छन् । उनी गत मंसिरमा नै अष्ट्रेलिया गएकी थिइन् । त्यसलगत्तै खेलकुद मन्त्री तेजुलाल चौधरीले एक सार्वजनिक कार्यक्रममा सरस्वती चौधरी अष्ट्रेलिया पलायन भएको बताएका थिए ।

केही दिनअगाडि टाइगर कप भलिबल प्रतियोगिता खेल्न सरस्वती नेपाल आएकी थिइन् । सो प्रतियोगिता सकिएपछि उनी फेरि अष्ट्रेलिया फर्किएकी हुन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले सरस्वती अष्ट्रेलिया पलायन भएको पुष्टि गरे ।

‘मैले बुझेसम्म उतै बस्नेगरी नै गएकी हुन् । राम्रो अवसर मिल्यो होला, नजाउ भन्न सकिएन’, उनले भने ।

सरस्वती अष्ट्रेलिया प्रस्थान गरेको थाहा भए पनि उनले औपचारिक राजीनामा भने नबुझाइसकेको न्यौपानेले बताए ।

‘औपचारिक रुपमा राजीनामा पत्र आइसकेको छैन । उतै पुगेर पठाउन सक्छिन् वा यता अरु कसैमार्फत बुझाउन लागेको हुन सक्छ’, उनले भने ।

सरस्वतीले अब नेपालको राष्ट्रिय टीमबाट खेल्छिन् वा खेल्दिनन् भन्ने प्रश्न छ । निकटस्थहरुले उनी अनुकूलता मिलेमा नेपालको प्रतियोगिता खेल्न आउन सक्ने बताएका छन् । डीआइजी न्यौपानेले भने यो विषयमा जानकारी नरहेको बताए ।

सरस्वतीलाई बिदाइ गरेको तस्बिर र भिडिओ हाल्दै राष्ट्रिय भलिबल खेलाडी रेश्मा राजभण्डारीले फेसबुकमा लेखेकी छन्, ‘तैले नयाँ बाटो रोजिस । जहाँ गए पनि अझ राम्रो गर्नु । सफलता तेरो पछि लागिरहोस् । सुरक्षित रहनु र जहिल्यै अगाडि बढिरहनु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर