मानसिक स्वास्थ्य झैँ यौन स्वास्थ्यबारे पनि खुल्न जरुरी छ : दयाहाङ राई


काठमाडौँ । निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘दुखी आत्मा’ यही फागुनको २ गते बाट देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रेम दिवसको मौका पारेर ‘भ्यालेन्टाइन डे’ बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
भेटघाट कार्यक्रममा निर्देशक दिपेन्द्रसहित कलाकारद्वय दयाहाङ राई र आँचल शर्मा उपस्तिथ थिए ।
कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले चलचित्र ‘दु:खी आत्मा’ मा आफ्नो पात्रको भूमिका चुनौतीपूर्ण भएको बताए । उनले भने, ‘मैले अनुभव पनि गर्न नपाएको पात्रको हो यो । चुनौती निकै थियो। यो एडल्ट भन्नेबित्तिकै अर्कै विषयको फिल्म होकी भन्ने खालको सोच आउँछ । यसमा पहिलो चुनौती भनेको मैले यो पात्रलाई न्याय दिन सक्दिन जस्तो लागेकै हो । आजको दिनसम्म हेर्दा पनि मैले जति गरे त्यो पर्याप्त भयो जस्तो लागेको छैन ।’
उनले चलचित्रमा देखाइएको समस्या संसार भर ७० प्रतिशत मान्छेमा भएको बताउँदै यसबारे बहस हुन जरुरी भएको बताए ।
‘यौन स्वास्थयको विषयमा हामी कमै कुरा गर्छौ। मानसिक स्वास्थ्यको बिषयमा पनि हामी बल्ल खुल्न थालेका छौं । झन यौन त हाम्रो निजी कुरा हो त्यसैले गोप्य राख्छौ’, उनले जोडे, ‘तर यो चासोको बिषय भने हो । छलफल कोसँग गर्ने भन्ने आफ्नो ठाउँमा होला तर यो बिषयमा मानिसहरुलाई जानकारी हुनुपर्छ भन्ने मलाई लाग्छ ।’
उनले आफ्ना अरु चलचित्रहरु र ‘दुःखी आत्मा’ बिचको भिन्नता औल्याउँदै भने, ‘ मेरा पहिलाका चलचित्रहरु हेर्न स–परिवार जानुहुन्थ्यो । यसपटक अलग–अलग भएर जानुपर्छ । उहाँहरुको लागी यो निराशा होला । त यसबारे बुज्न जरुरी छ । परिवारसँग यसबारे हामी खुल्न सक्दैनौ । मलाई पनि यसबारे खासै ज्ञान थिएन । तर यो चलचित्र गरेपछि मैले पनि धेरै कुरा जान्ने मौका पाए ।’
दयाले एउटा सुन्दर समाज हुनका लागि, स्वास्थ्य समाज हुनुपर्ने तर्क गर्दै सुनाए, ‘चलचित्रको टिजर आउँदा मेरो केही असहमति थियो । किनकी, यो चलचित्रले जे बिषयवस्तु उठान गरेको छ त्यो टिजरमा देखाइएको कुरा मात्र होइन ।’
त्यस्तै, नायिका आँचल शर्माले पनि यो विषय एक गहन विषय भएको बताइन् । कार्यक्रममा बोल्दै उनले भनिन,‘जुन विषय चलचित्रमा उठाइएको छ, त्यो भनेको ४० वर्ष माथिका ७० प्रतिशत पुरुषमा देखा पर्ने कुरा हो, त्यो पनि खुलाएको डाटा मात्र । नखुलाउने त कति होलान। ४० कटेका मात्र होइन, २०–३० वर्ष कटेका पुरुषमा पनि यो समस्या देखिएको रहेछ। त्यसैले यस विषयमा खुल्न जरुरी छ ।’
निर्देशक लामाले भने नेपाली सिने क्षेत्रमा ४० वर्षपछि मात्र यस्तो विषय उठाउन थालिएको सुनाए ।
उनले भने, ‘बलिउडमा पहिलेदेखि नै राम्रै तरिकाले एडल्ड कथालाई उठाउने काम भइरहेको छ । तर नेपालमा ४० वर्ष भयो, बल्ल यो विषय उठान गरिएको छ। तर अहिले पनि यो विषय उठाउन त्यति सजिलो भने छैन ।’
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।