संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न सरकारसँग कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न माग गरेको छ।
आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्तक शासन व्यवस्थाको सुदृढिकरणका लागि संविधानको सार्थक कार्यान्वयन आजका महत्वपूर्ण एजेण्डा भएको बताए।
उनले भने, ‘नेपाली कांग्रेस सदैव लोकतन्त्र र संसदीय प्रणालीको पक्षमा रहेको छ । देशको सवैभन्दा ठूलो पार्टीको रुपमा स्थापित कांग्रेसले संसदको प्रभावकारितामा गम्भीर एवं जिम्मेवार रुपमा काम गर्नु पर्दछ ।’
बैठकले पार्टीका सबै सांसदहरुलाईसंसद र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशिल रहन, राष्ट्र र जनताका हितमा पूर्णरुपमा समर्पित रही काम गर्दै सोही अनुसार कार्य गर्ने र जनताका सरोकारका विषय सदनमा उठाउने आग्रह गरेको छ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतात्मक शासन व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्था बमोजिम धेरै कानून निर्माण गर्न बाँकी छन् ।संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा प्रस्तुत गर्न नेपाल सरकारलाई यो बैठक आग्रह गर्दछ ।’
संसदमा विचाराधिन रहेको विधेयकहरु चालु अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन गरेको छ।