कविता : अकविता

म अकविता लेख्न मन पराउँछु
अकविताको आफ्नै स्वभाव हुन्छ
अकविता विद्रोह र विसंगति ओकलेर
मध्य सडकको जेब्राक्रस टेकी
मसाल बोकी उफ्रने गर्छ
अकविता त अराजक बन्दै
कानून हातमा लिएर
कथित कविताहरूको
भ्रूण हत्या गरी
निशंकोच, निडर
तिम्रो रोष्ट्रम घेराउ गर्दै
तिम्रै कठालो समात्न सक्छ
महाशय
त्यसलाई निलम्बन गर
सक्छौ पाता फर्काउ
लैजाउ यातना शिविरमा
र आजीवन काराबासमा कोच ।
म रुन्छु
तिमी हाँस्छौ
म भोक लाग्यो भन्छु
तिमी अघाएर डकार्छौ
म झुपडीमा बस्छु
तिमी महलमा बस्छौ
मसँग मानवता छ
तिमी दानवता ओकल्छौ ।
म भूकम्पको आह्वान गर्छु
धरती चीरा चीरा बनाउनलाई
सागरहरू सुकी रहुन्
मरुभूमि बन्नलाई
हिमालको हिउँ पग्लियोस्
हिमाल नाङ्गै देखिनलाई
जङ्गलहरू डढेलोले खाओस्
पृथ्वी उजाड फुङ्ग देखिनलाई ।
सृष्टि नासिएर
सबैतिर शून्यता छाओस्
प्राणविहीन जिन्दगीहरू
मसानघाटमा अलपत्र परिरहोस्
मृत्यु यस्तो होस्
त्यो भयावह बनेर आओस्
कोकोहोलो मच्चाओस्
पुनः लाशहरू नबौरिने गरी ।
किन पलायो यसरी विदीर्ण भावना ?
किन नैरश्यता छायो ?
म बाँच्न चाहेर पनि
हर दिन मरिरहन्छु किन ?
सानी मैया मृत्यु चाहान्छे
नारकीय जीवनबाट मुक्ति पाउन
दलबहादुर पनि मृत्यु नै चाहान्छ
दासत्वबाट मुक्ति पाउन
मुक्ति र मृत्यु
फरक कुरा हो
कायर बनी मर्ने किन ?
मरेर मुक्ति मिल्ने भए
मर्नु हुन्थ्यो दिनै दिन ।
सामन्तको खेलो फड्को चलिरहेकै छ अझैसम्म
निमुखा मान्छेलाई दल्न भेटेपछि
म विद्रोहको चिराग बोकी
विद्रोहकै गीत गाइबसेको छु
तिमीलाई तर्साउँदै
अन्यायविरुद्ध लड्छु म
खबरदार !
म विष्फोटित पनि हुन सक्छु
मलाई नतर्साउ घरि घरि
तिम्रो बसाइ सुरक्षित राख
तिम्रो सुरक्षा घेरा तोडेर
म युद्ध लड्छु तिमीसित ।
म दलालहरूलाई उल्टो झुन्ड्याई
कोर्रा हान्न चाहन्छु
चरम यातना दिँदै
यातना शिविरमा
ओहोर दोहोर घिसारेर
तड्पाइ तड्पाइ राख्नु छ मैले
तीनिहरूलाई शवक सिकाउनु छ
निर्ममतापूर्वक
यातना दिएर
कहिल्यै शिर नउठ्ने गरी ।
के हेर्दैछौ मानव अधिकार कर्मीहरू ?
मेरोविरुद्ध मुद्दा हाले हुन्छ
म मुद्दा लड्न तयार छु
वादी , प्रतिवादीको बहस चल्ला
मैले पाएको यातना आलै छ
मलाई यातना दिने माथि
मैले यातना दिँदा
कसरी मुद्दा लाग्छ ?
श्रीमान म अराजक हैन
मलाई अराजक बनाइएको छ
निष्पक्ष न्यायको आशा गर्छु
आवाजहरू दमित भएपछि
विष्फोटित हुनैपर्छ श्रीमान
यो पनि युद्धभित्रको एउटा नियमै हो
म सडकहरू तताउँदै
मोर्चा कसि बस्छु
मलाई विद्रोही भनिएको छ
मसँग बन्दुक छैन
म कसरी विद्रोही हुन सक्छु ?
म त कलमको सहाराले
आगोको झिल्को जस्तो
तिम्रै छातीमा टेकेर
म कविता हैन
अकविता नै लेख्छु ।
सुन्दरहरैँचा-६, दुलारी, मोरङ