अछाम पुगेर बादलले भने- जनयुद्ध हिंसा नै हो, नेकपा छाडेर प्रचण्डले माओवादीको गुट बनाए (भिडिओ)
'दुनियाँमै नभएको जनयुद्ध दिवस माओवादीको स्टन्टबाजीमात्र हो'

पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनयुद्धलाई उक्त टिप्पणी गरेका हुन् । तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका बादल युद्धको आर्किटेक्ट मानिन्छन् । सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनी एमालेमै रहेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष बादलले भने, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो । ’
तत्कालीन अवस्थामा नेकपा गठन गर्दा पनि यस विषयमा गहन छलफल भएको उपाध्यक्ष थापाको भनाइ थियो । १० वर्षको जनयुद्धले वा सशस्त्र संघर्षले नेपालको लोकतन्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको एमालेको १०औँ महाधिवेशनले पनि पूर्ण रूपमा निषेध नगरेको उनले बताए ।
माओवादीले युद्ध सुरू गर्दा एमालेको तत्कालीन समर्थन नभएको उनको भनाइ थियो । थापाले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गरे ।
‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन । माओवादीहरूको एक ढङ्गको इस्टनबाजी हो । गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौं ’, उनले भने, ‘जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो । ’
अर्को प्रसङ्गमा उनले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण ०८४ सम्म जाने बताए ।
‘यसलाई भत्काउने कोसिस भइरहेको छ । यो भत्किने सम्भावना छैन ’, थापाको दाबी थियो ।
पछिल्लो समय पार्टी छोड्ने र जोडिने सन्दर्भ जोड्दै आफू कुनै पार्टी छाडेर नआएको, नेकपाकै निरन्तरता स्वरूप एमालेमा रहेको थापाले प्रष्ट्याए ।
‘अर्को पार्टी छोडेर एमालेमा आएको होइन । विचारमा एकरूपमा भएको हुँदा म एमालेमा आएको हुँ । यो नयाँ एमाले हो, पुरानो एमाले होइन । माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा भएको हो । त्यो नयाँ पार्टी हो’, उनको भनाइ छ ।
पार्टी लाइनबाट विचलित भएर केही सदस्यहरूसहित प्रचण्ड पार्टीबाट निस्किएको बादलले बताए । माधव नेपाल र वामदेव पनि अवसर नपाएर नेकपाको निरन्तरताबाट बाहिर गएको उनको आरोप थियो ।
‘प्रचण्ड नेकपा छाडेर माओवादी केन्द्रमा लागे र गुट बनाए । माधव कुमार नेपालजी यहाँबाट फुट्नु भयो नेकपा एस बनाउनु भयो । वामदेव फुट्नु भयो । एकता अभियान बनाउनु भयो । उहाँहरूमा विचलित हुनुभयो । म त्यस्तो होइन ’, उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुन पाएनन् , एकल अध्यक्ष हुन पाएनन् । माधव नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष नपाएर फुटेर गए ।’
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर निर्णायक राष्ट्रिय शक्ति बन्न कसैले रोक्न नसक्ने थापाको दाबी थियो ।
‘मिसन ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउनुपर्छ । एमालेले बहुमत ल्याएपछि मात्रै सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा हुन्छ ’, उनले भने , ‘निर्णायक राष्टिय शक्ति बनाएर सरकार चलाउने लक्ष्य छ । त्यो पूरा हुन्छ । त्यसका लागि जनताको मन जित्नेगरि काम गर्न सबै नेता कार्यकर्ताहरूलाई भनेका छौँ ।’
शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुंग्याउन सरकार लागिरहेको उनको भनाइ थियो । अछामको विकास र समृद्धिको लागि सबैभन्दा पहिलो यहि ठाउँमा जनप्रतिनिधि गम्भीर हुनुपर्ने र एमालेले केन्द्रमा त्यसको भूमिका निर्वाह गर्ने उनले बताएका थिए ।