मर्चेन्ट बैंकरको लाइसेन्स दिन पुनः थालियो, आईपीओ जारी गर्न सक्ने


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को लाइसेन्स दिने कार्य पुनः सुचारु गरेको छ । सेबोनका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेका अनुसार स्थगित रहेको उक्त अनुमति पत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको हो ।
‘मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमति पत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरिएको छ’, सेबोनले जारी गरेको सूचनामा उल्लेख छ ।
मर्चेन्ट बैंकर व्यवसायको अनुमति पत्र प्रदान गर्ने कार्य २०७५ सालदेखि स्थगित थियो । हालसम्म स्थगित रहेको उक्त कार्य पुनः सुचारु गरिएको सेबोनले जानकारी दिएको छ ।
कम्तीमा १ अर्ब चुक्ता पूँजी भएका तथा नियमावली बमोजिम व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा गरिसकेका मर्चेन्ट बैंकरहरुलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्ने व्यवस्था गरेको बोर्डले जनाएको छ । यी कम्पनीहरूले ३० प्रतिशतभन्दा कम नहुने गरी नियमानुसार धितोपत्र सार्वजनिक निष्काशन गर्न सक्ने व्यवस्था समेत गरिएको बोर्डले जनाएको छ ।