‘नो केबलकार’ वालाले ग्लोबल आईएमई बैंकबारे फैलाएको अफवाह, सूचकमा के छ वास्तविक अवस्था ? – Nepal Press

‘नो केबलकार’ वालाले ग्लोबल आईएमई बैंकबारे फैलाएको अफवाह, सूचकमा के छ वास्तविक अवस्था ?

राष्ट्र बैंक भन्छ- पाथीभरा केबलकारको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदै राम्रो

काठमाडौं । पछिल्लो केही साता यता ‘ग्लोबल आइएमई बैंक डुब्दैछ, पैसा निकालेर खाता बन्द गर्नु’ भन्दै केही व्यक्ति तथा समूहले विभिन्न पोस्ट तथा भिडियोहरू बनाइरहेका छन् । यसरी बैंक डुब्दैछ भन्ने अफवाह ताप्लेजुङको केबलकार निर्माण विवादले उब्जाएको देखिन्छ ।

‘नो केबलकार’ पक्षधारीहरूले बैंकका विभिन्न शाखाहरूमा प्रदर्शन नै गरिरहेका छन् । इटहरी चोकमा रहेको ग्लोबल आइएमई बैंकको शाखामा केबलकार बन्न हुँदैन भन्ने पक्षधरहरुले केही साता अगाडि विरोध प्रदर्शन गरे । उनीहरूले बैंकको झापा शाखा र काठमाडौंकै कमलादीमा रहेको शाखामा पनि आन्दोलन गरे ।

बैंकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूले केबलकार निर्माण गर्ने कार्य अगाडि बढे बैंकको ‘ढाड सेक्ने’ सम्मको चेतावनी दिँदै आएका छन् । यस बैंकका अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका देशकै अग्रणी उद्यमी  चन्द्रप्रसाद ढकाल हुन् । केबलकार निर्माता र बैंकका अध्यक्ष ढकाल एउटै भएकोले बैंकविरुद्ध प्रदर्शनी गरिएको समेत ओन्दोलनकारीहरूको तर्क छ ।

त्यससँगै ‘बैंक डुब्दैछ’ भनेर विभिन्न पोस्ट तथा भिडियो मार्फत अफवाह फैलाइरहेको पाइएको छ । बैंकविरुद्धका यस्ता प्रस्तुति, अभिव्यक्ति र सामाजिक सञ्जाल प्रयोग गरेर सर्वसाधारणमा भ्रम फैलाउने क्रम तीव्र गतिमा बढिरहेको छ । सामाजिक सञ्जालमा स्ट्याटसदेखि भिडियो मार्फत यस्तो भ्रम फैलाइरहेको भेटिन्छ ।

सागर केरुङ नामक फेसबुक प्रयोगकर्ताले स्ट्याटस लेख्दै बैंक डुब्दैछ भन्ने दाबी गर्न खोजेका छन् । उनले लेखेका छन्, ‘ग्लोबल आइएमई बैंकमा तपाइको खाता छ भने तुरुन्तै क्लोज गर्नुहोस् है । बैंक डुब्दैछ । पूर्वबाट उठाउँदैछौँ ।’

‘नो केबलकार’ पक्ष बैंकमाथि आक्रामक शैलीमा उत्रिएका छन् । उनीहरूले बैंक डुब्दैछ भनेर सर्वसाधारणमा भ्रम छर्दै पैसा निकाल्न उक्साइरहेका छन् । यसका लागि उनीहरूले यो बैंक बहिस्कार गर्नुपर्ने भन्दै अभियान नै चलाएको पाइएको छ ।

दिनेश तिलिङ नाम गरेका फेसबुक प्रयोगकर्ताले ग्लोबल आइएमई बैंक वहिष्कार अभियानलाई एक्येवद्धता जनाउन आग्रह गर्दै फेसबुक पोस्ट गरेका छन् । उनको त्यो पोष्टमा अधिकांशले समर्थन गरेका छन् ।

ब्रबिम शर्मा नामक फेसबुक प्रयोगकर्ताले पाँच दिन अघि एउटा स्ट्याटस राख्दै बैंक डुब्दै गएको भनेका छन् । उनले लेखेका छन्, ‘ग्लोबल आइएमई बैंक ब्यापकरुपमा डुब्दै गएको खबर छ । पछुताउनु पर्ला है…।’

उनको यो स्ट्याटसमा यो समाचार तयार पर्दासम्म ५१३ जनाले लाइक गरेका छन् । जसमा ३५ शेयर भएको छ भने ६४ जनाले कमेन्ट गरेका छन् । अधिकांश कमेन्ट उनले पोष्टमा समर्थन गर्दै गरेको देखिन्छ ।

अर्का भीम वलीले फेसबुकमा लेखेका छन्– ग्लोबल आइएमई बैंकको समाचार के हो ? खासमा हावा भनौँ भने प्रतिष्ठित टेलिभिजनहरुबाट नै समाचार आइराछ । सबैलाई त्रसिद बनायो त ।’

त्यति मात्रै होइन, बैंक डुब्दैछ भन्ने प्रचार सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् । कतिपयले बैंक डुब्दैछ भन्ने प्रचारको वास्तविकता के हो ? भनेर पनि खोजी गरेका छन् । यसरी हेर्दा बैंक डुब्दैछ भन्ने अफवाहबारे यस बैंकका खातावाल सर्वसाधारण त्रसिद भएको अनुमान गर्न सकिन्छ ।

राम तुलसी लिम्बु नामक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘ग्लोबल आइएमई बैंक बन्द हुँदै छ रे के यो साँचो हो ? जानकारी पाउन’ ।

केबलकार निर्माणको विवादका कारण बैंकमाथि निरन्तर प्रहार भइरहेको छ । पैसा निकालेर बैंक खाता बन्द गर्ने भन्दै सर्वसाधारणलाई उक्साइरहेको देखिन्छ ।  त्यतिमात्रै होइन बैंक डुब्दैछ भनेर समेत उनीहरूले भ्रम फैलाइरहेका छन् । उनीहरूले भनेको जस्तै के बैंक डुब्दैछ त ? ग्लोबल आइएमई बैंक डुब्न लागेको चर्चाको वास्तविकता के हो ? बाहिर बैंक डुब्दैछ भन्ने हल्ला फैलाए जस्तो के यो बैंक डुब्दैछ ?

यसबारे यहाँ केही प्रष्ट पार्न खोजिएको छ । बैंकको वास्तविक अवस्थाबारे कस्तो  छ भन्नेबारे बैंकको वित्तीय विवरण मार्फत जानकारी दिने प्रयास गरिएको छ । बैंकको पछिल्लो वित्तीय विवरण हेर्दा यो बैंक सबैजसो सूचकमा अब्बल देखिन्छ । बैंकबारे फैलाइएको भ्रम जस्तै बैंक नकारात्मक अवस्थामा देखिँदैन ।

वित्तीय सूचकहरू सकारात्मक रहेको यस ग्लोबल आइएमई बैंकमा ४८.७६ प्रतिशत लगानी सर्वसाधारणको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म यस बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ ।

बैंकको हाल चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पाथीभरा केबलकार निर्माणसँग जोडेर बैंकमाथि गरिएको प्रहार गलत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक – ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो ।’

नियामक निकाय र बैंकिङ प्रणालीका सूचकहरुका आधारमा गरिएको स्वतन्त्र फ्याक्ट चेकले सामाजिक संजालमा केही व्यक्तिले दावी गरेजस्तो अवस्था विल्कुल छैन । निश्चित राजनीतिक र जातीय भड्काउको उद्देश्यले गरिएको आन्दोलनका समर्थकले विदेशमा बसेर सामाजिक संजालमार्फत बैंकको बारे अफवाह फैलाएर सर्वसाधारणलाई भ्रमित पार्न खोजिएको आरोप छ ।

साइबर व्युरो आफैंले यस्ता अकाउन्टहरु पहिचान गरी कारवाही गर्नुपर्ने बैंकरहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर