सीआर सेभेन: ४० वर्ष पुगेका सबैभन्दा ‘फिट’ फुटबलर

हेटौंडा । विश्वको सर्वकालीन महान फुटबलर को हुन ? यो प्रश्न सुन्नासाथ सबैले झट्ट भनिहाल्ने नाम ब्राजिलका पूर्वस्टार पेले र अर्जेन्टिना स्टार म्याराडोना हुन् । यही प्रश्नलाई अलिकति घुमाएर गर्दा अर्को प्रश्न हुन्छ- यो शताब्दीको महान फुटबलर को हुन ? यसको पनि उत्तर झट्टै आइहाल्छ । सबैले दिने उत्तर अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो ।
यो शताब्दी यी दुई खेलाडीमा को महान ? को शक्तिशाली ? को भरपर्दो ? यही प्रश्नको उत्तर भने फुटबल जगतले पाउन सकेको छैन । मेसी र रोनाल्डोलाई सबैभन्दा महान भन्ने बहस फुटबल जगतमा भैरहन्छ । मध्यमार्गमा रहेर फुटबल विश्लेषण गर्ने विश्लेषकहरुले दुबैलाई बराबरी भन्ने गरेका छन् ।
तर यी दुईको खेमामा फुटबल विश्लेषकहरु सधैं जुधिरहेका छन् । फुटबल मैदानमा मेसी र रोनाल्डो विपक्षीविरुद्ध जसरी आक्रामक ढंगबाट प्रस्तुत हुन्छन्, त्यसरी उनीहरु दुबैको विरुद्धमा मैदान बाहिर को महान भन्ने होडबाजी चलिरहेको छ । सायद यो बहसले यो शताब्दीमा कुनै ठोस उत्तर भने भेट्ने छैन ।
अब को महान भन्ने प्रश्नलाई यतै छाडेर रोनाल्डोको कुरा गरौं । रोनाल्डो उमेरले यसै वर्ष ४० टेकेका छन् । ४० वर्ष पुग्नु दुई दिन पहिले उनै रोनाल्डोले एएफसी च्याम्पियन्स लिगमा आफ्नो क्लब अल-नासरको लागि दुई गोल ठोकेर आफू अझै २०-२१ वर्षकै जोसमा रहेको प्रमाणित पनि गरे ।
उनका उमेरका खेलाडीहरु अहिले सन्न्यासपश्चात केही कोच, केही फुटबल विश्लेषक, केही अफिसियलको रुपमा मैदान बाहिर सक्रिय छन् । उनीसँगै फुटबल खेलेका तत्कालीन स्टारहरु रोनी, जाभी, इनिएस्टालगायत अहिले मैदान बाहिरको फुटबलमा सक्रिय छन् ।
तर रोनाल्डोमा त्यो नियम लागू भएको छैन । उनी अझै उस्तै फुर्तिलो ढंगबाट मैदानमा गोल ठोकिरहेका छन् । उनको फिटनेस हेर्दा कुनै युवा खेलाडीको भन्दा कम देखिन्न । उनको रनिङलाई भेट्टाउन अहिलेका युवा फुटबलरलाई धौ-धौ पर्छ । र त रोनाल्डो अहिले पनि म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस हुँदा जस्तै चलाख र पूर्ण छन्र, र त ४० पुगेका यी पोर्चुगिज फुटबलर फरवार्ड अझै यो दशकले देखेको सबैभन्दा ठूलो खेलाडी भएको दाबी गर्दैछन् ।
रोनाल्डोले बुधबार आफ्नो ऐतिहासिक जन्मदिनको दुई दिनअघि ला सेक्स्टालाई भने, ‘म फुटबलमा सबै कुरा गर्छु । म सेट-पीसहरू राम्ररी लिन्छु, म मेरो बायाँ खुट्टाले राम्रोसँग गोल हान्छु, म छिटो छु, म बलियो छु, म उफ्रन्छु । तपाईंहरुको रोजाइ एउटा कुरा हो, यो भन्नु, यो होस् वा त्यो, चाहे तपाईं मेस्सी, पेले वा म्याराडोनालाई मन पराउनुहुन्छ, म यो सुन्छु र म यसलाई सम्मान गर्छु, तर क्रिस्टियानो पूर्ण छैन भन्नु झूट हो । म सबैभन्दा पूर्ण हुँ । म आफूभन्दा राम्रो अरू कसैलाई देख्दिनँ र म तपाईंलाई यो मेरो हृदयले भन्छु ।’
उनको यो अभिव्यक्तिमा दम पनि छ । किनकि उनले यो कुरा मैदानबाट प्रमाणित गरिरहेका छन् र त आलोचकहरुको मुख बन्द छ । आफ्नो एक हजारौं व्यवसायिक गोल पूरा गर्ने रोनाल्डो फुटबल इतिहासकै उत्कृष्ट खेलाडी हुन् । पोर्चुगिज फरवार्डले पाँच प्रतिष्ठित बालोन डीओर अवार्ड, तीन यूईएफए पुरुष खेलाडीको वर्षको उपाधि, चार युरोपेली गोल्डेन बुट जितेका छन् । त्यस्तै पाँच पटक फिफा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
आफ्नो उत्कृष्ट करियरमा रोनाल्डोले सात वटा लिग उपाधि, पाँच उपाधि, यूईएफए युरोपियन च्याम्पियनसिपसहित ३३ वटा उपाधि जितेका छन् ।
युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगमा सबैभन्दा धेरै सहभागिता र गोलको रेकर्ड पनि उनैको नाममा छ । देशको लागि युरो कप विजेतासमेत रहेका रोनाल्डोले युरोपको टप ३ लिगमा पर्ने प्रिमियर लिग, लालिगा र सिरि‘ए’मा आफ्नो फुटबलको कलाकारिता स्थापित गरिसकेका छन् । यो मामिलामा हेर्ने हो भने रोनाल्डोलाई मेसीभन्दा एक कदम अगाडि राख्न सकिन्छ ।
रोनाल्डोबारे अहिलेका स्टार खेलाडी हाल्यान्ड भनछन्, ‘उनी हामी सबैका लागि ठूलो प्रेरणा हुन् ।’ नर्वेली स्ट्राइकरले जनवरी २०२१ मा बुन्डेसलिगाको आधिकारिक वेबसाइटमा भने, ‘उनीलाई हेर, उनी मानिस हो कि मेसिन हो ?’
सन् १९८५ फरवरी ५ मा जन्मिएका रोनाल्डोले सिनियर फुटबलमा २००२ मा पाइला राखे । स्पोर्टिङ सिपीबाट व्यवसायिक फुटबल सुरु गरेका उनले २००३ बाट २००९ सम्म इंलिश क्लब म्यान्चेस्टर युनाइटेडबाट फुटबल खेले । यो क्रममा उनले १९६ खेल खेल्दै ८६ गोल गरे ।
त्यसपछि उनी स्पेन लागे र स्पेनिस महारथी रियल म्याड्रिडमा आवद्ध भए । उनले रियलको लागि सन् २००९ बाट २०१८ सम्म फुटबल खेले । जहाँ २९२ खेलमा ३११ गोल गरे । त्यसपछि इटालीको युभेन्टसमा सन् २०१८ बाट २०२१ सम्म खेल्ने क्रममा ८८ गोल गरेर पुनः म्यान्चेस्टर युनाइटेड फर्किए र २०२२ सम्म खेले । त्यहाँ पनि ४० गोल गरेर उनी विश्व फुटबल जगतलाई आश्चार्यमा पार्दै साउदी क्लब अल नासार पुगे । हाल साउदी प्रो लिगको नासरबाट उनले आफ्नो प्रभाव छाडिरहेका छन् ।
बुधबार ४० वर्ष टेकेका रोनाल्डोलाई सम्झँदै विश्वभरका उनका फ्यानहरुले ‘सीआर सेभेन’ नामको केक काटेर उनको जन्मदिन मनाइरहेका छन् । फुलबलमा जर्सी नम्बर ९, १० र ११ लाई फरवार्डले लगाउने रुपमा हेरिने गरिन्छ, तर उनै रोनाल्डोले त्यो हेर्ने नजरलाई परिवर्तन गर्दै जर्सी नम्बर ७ लाई महान फुटबलरको जर्सीको रुपमा समेत स्थापित गरिदिए ।