गर्भवती अवस्थामा मायावी गरेकी दीपिका- कि सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो, निकै दुःख पाएँ – Nepal Press

गर्भवती अवस्थामा मायावी गरेकी दीपिका- कि सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो, निकै दुःख पाएँ

काठ्माडौं । महा-शिवरात्रीको अवसर पारी यहीँ फागुन १४ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र हो, ‘मायावी’ । निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बनेको यो चलचित्रमा नायक पल शाह र नायिका दीपिका प्रसाँइ फिचर्ड छन् ।

चलचित्रको कथा पनि दिवाकरकै हो। लामो समयको मेहेनत भएकाले यो चलचित्र पल, दीपिका र दिवाकर तीनैजनाको लागि विशेष छ ।

केही बर्षको अन्तरालपछि दीपिका यस चलचित्रमार्फत पर्दामा फर्किएकी हुन । त्यहीँ भएर पनि होला, उनको लागी यो चलचित्र झनै विशेष छ । उनले ‘मायावी’ आफ्नो सपना भएको बताएकी छिन् ।

मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्, ‘यो प्रोजेक्ट ५ बर्ष अगाडि देखिको यात्रा हो । यहीँ प्रोजेक्ट सुरु भएपछि मलाई म गर्भवती भएको थाहा भयो। त्यो अवस्थामा मलाई कि त सन्तान, कि त फिल्म रोज्नुपर्ने अवस्था थियो ।’

‘तर, मैले भगवानको नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भनेर अगाडि बढेँ । चलचित्रको छायांकनका क्रममा निकै दुख पनि पाए । तर, अहिले दर्शकको उत्साह देख्दा खुशी लाग्छ’, उनले जोडिन् ।

दीपिकाले चलचित्र छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको समेत बताइन् ।

उनले भनिन्, ‘मैले निर्देशक दिवाकर भट्टराइलाई अब म यो फिल्म गर्न सक्दिनँ समेत भनेकी थिएँ । अन्य नायिका लिनुहोस् फिल्ममा पनि भनेँ । तर, मलाई उहाँले हरेक शब्दमा तिमी छौं, अरुलाई सोच्न सक्दिनँ भन्नुभयो । यसैले मैले यो फिल्म गर्नुपर्यो ।’

दीपिकाका अनुसार ‘मायावी’ उनको दोस्रो सन्तान हो । मायावीलाई परिभाषित गर्दै उनी भन्छिन्, ‘मायावीको अर्थ सामान्य रुपमा मायाजाल बुझिन्छ । तर, यो चलचित्रमा भने मायावी भनेको आकर्षण हो भनेर देखाइएको छ । चलचित्रमा अनेकौं तरिकाले मायावी देख्न सकिन्छ ।’

बाहिरी ब्यानरका र घरका चलचित्रहरुमा काम गर्न आफूलाई कुनै पनि समस्या नभएको बताउँदै दीपिकाले अब निरन्तर चलचित्र क्षेत्रमा काम गर्ने बताएकी छिन् । ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको यो चलचित्रमा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रमा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरुको अभिनय छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर