प्रेस चौतारी कास्की अध्यक्षमा मोतीसागर अधिकारी सर्वसम्मत


पोखरा । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल कास्की शाखाको अध्यक्षमा मोतीसागर अधिकारी सर्वसम्मत चयन भएका छन् ।
प्रेस चौतारीको २७औं स्थापना दिवसको अवसरमा मंगलबार भएको शाखाको नवौं अधिवेशनमा अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिकारी यसअघि संगठनको कार्यवाहक अध्यक्ष थिए ।
समिति उपाध्यक्षमा गिरिधारी पोखरेल, उपाध्यक्ष महिलामा रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी, सहसचिव समावेशीमा सुरेश सुनार र कोषाध्यक्षमा सन्दीप खनाल सर्वसम्मत भए ।
सञ्जय थापा, सुजन पौडेल, रचित पौडेल, आशिष पुरी, बिनिता राना, मदनमणि तिमिल्सिना, काशीनाथ कुमाल र मनिषा लामिछाने सदस्य चयन भए । दुई सदस्य कार्यसमिति बैठकबाट पछि मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।
अधिवेशनबाट प्रदेश र केन्द्रीय प्रतिनिधिसमेत चयन गरिएको छ । प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल (तारा), अर्जुन गाहा (सुशान्त), रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभाट चयन भए । केन्द्रीय प्रतिनिधिमा दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, पुण्य पौडेल, प्रकाश अधिकारी र शान्ति गुरुङ चयन भएका छन् ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको छ । प्रेस चौतारी पत्रकारिता सम्मान २०८१ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गरिएको छ । ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार २०८१’ पत्रकार ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिएको छ । पौडेललाई नगद २२ हजार २२२ सहित पुरस्कृत गरिएको हो ।
उनीहरूलाई प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे र राजेश राई, नेकपा एमाले कास्कीका नेतासहितले सम्मानपत्र प्रदान गरेका थिए ।
प्रेस चौतारीका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक रहेको प्रतिभा छनोट समितिले गुरूङलाई सम्मान र पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको थियो ।