चलचित्र अध्ययन गर्न चाहने विद्यार्थीलाई विकास बोर्डद्वारा छात्रवृत्ति प्रदान


काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्रसम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वतवृत्तिका लागि प्रोत्साहनस्वरुप छात्रवृत्ति प्रदान गरेको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा छात्रवृत्ति प्रदान गरिएको हो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डस्सीले सम्बन्धित कलेजलाई छात्रवृत्तिवापतको रकम विद्यार्थीहरुमाझ हस्तान्तरण गरेका हुन । अध्यक्ष डीसीले माध्यमिक र स्नातक तहका विद्यार्थीहरुको छात्रवृत्तिवापतको रकम ओस्कार इन्टरनेशनल कलेजका संयोजक नवनिधि दहाल र नेपाल फिल्म क्याम्पस तथा नेपाल संगीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीलाई हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरुलाई छात्रवृत्तिको कार्यक्रम २०६१ सालबाट सुरु भए पनि यस वर्षबाट अध्यक्ष दिनेश डीसीले माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले पनि छात्रवृत्ति पाउने व्यवस्था गरेका हुन ।
यसअघि विद्यावारिधिमा दुई, स्नातकमा १० र सर्ट कोर्षमा २ जनालाई छात्रवृत्ति दिने गरिएको थियो । यस वर्षबाट विद्यावारिधितर्फ ३, स्नातकतर्फ १३ र माध्यमिकतर्फ ५ जनालाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको छ ।