महिला प्रहरी मृत्यु प्रकरण: विहानको खाना खान ड्युटीबाट व्यारेक फर्किएकी थिइन् निशा – Nepal Press

महिला प्रहरी मृत्यु प्रकरण: विहानको खाना खान ड्युटीबाट व्यारेक फर्किएकी थिइन् निशा

काठमाडाैं ।  विहानको खाना खान व्यारेक फर्किएकी २३ वर्षीया प्रहरी जवान निशा चौधरी साँखुमा मृत फेला परेकी छन् ।

बुधबार प्रहरी प्रभाग साँखुको महिला व्यारेकमा उनी सिलिङ पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

काठमाडौंका प्रहरी प्रवक्ता एसपी अपिल बोहराका अनुसार विहान ५ बजे शालीनदी मेलाको ड्युटीका निम्ति व्यारेकबाट निस्किएकी उनी ११:५ मा खाना खान फर्किएकी थिइन् ।

उनीसँगै व्यारेकको एकै कोठामा थप दुई महिला प्रहरी बस्ने गरेका थिए । अरुले शालीनदी मेला व्यवस्थापन समितिको मेसमा खाना खाए । तर, चौधरीले त्यहाँको खाना रुचिकर नभएको भन्दै व्यारेकमै खाने भनी गएकी थिइन् ।

दिउँसो १२:०३ मा शालीनदी मेलामा खाना खाएर दुई महिला प्रहरी व्यारेक फर्किए । तर, लामो समयसम्म ढोका ढकढक्याउँदा पनि खुलेन । उनीहरूले सहकर्मी प्रहरीको सहयोगमा आल्मुनियमको झ्याल खोलेर हेरे । त्यसबेला उनी मृत अवस्थामा भेटिएको बोहराले बताए ।

प्रहरी बृत्त गौशालाबाट शालिनदी मेलाका निम्ति थप मद्दत टोलीका रुपमा उनी त्यहाँ खटिएकी थिइन् । बर्दियाकी बासिन्दा उनी विवाहित, तर निस्सन्तान थिइन् । केसी खत्री थरका उनका पति ६ महिनाअघि वैदेशिक रोजगारका निम्ति दुबई गएका हुन् ।

बर्दियाबाट चौधरीका आफन्त आएपछि मात्रै थप अनुसन्धान अगाडि बढ्ने प्रवक्ता बोहराले बताए । ‘उहाँका आफन्त आएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा घटनास्थल मुचुल्का उठाइने छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *