नेकपा एसले भन्यो- पार्टीको विधि र पद्धतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने नेताहरु नोटिसमा छन् – Nepal Press

नेकपा एसले भन्यो- पार्टीको विधि र पद्धतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने नेताहरु नोटिसमा छन्

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धति बाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले विज्ञप्ति जारी गर्दै एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी भ्रम सिर्जना हुनेगरी छिटफुट रुपमा काम भइरहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘बेलाबखत यस पार्टीका एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनको यो महत्वपूर्ण पक्षलाई बिर्सने, पार्टी विधानले दिएको अन्तरपार्टी जनवादको अवसरलाई पद्धतिसंगत ढंगले उपयोग नगर्ने, पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू संगठित कमिटीको बैठकमा नराखी बाहिर सामाजिक सञ्जाल वा मिडियाहरुमा जथाभावी छरेर भ्रम सिर्जना हुने अवस्थामा पु¥याउने काम पनि छिटफुट रूपमा भइरहेको पाइएको छ ।’

पार्टीलाई अनुशासित, मर्यादित र विधि पद्धतिअनुरुप सञ्चालन गर्ने, गराउने आधिकारिक निकायको रुपमा रहेको यस केन्द्रीय अनुशासन आयोगको त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्ता गतिविधिहरुलाई नोटिसमा राखी निगरानी पनि गरिरहेको विज्ञपित्मा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर