लालीगुराँस सहकारीबाट ९ जनालाई दिएको ऋण शंकास्पद, नक्कली ऋणी खडा गरी सञ्चालकले लिएको आशंका

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट नौ जनाको नाममा प्रवाह गरिएको ऋण शंकास्पद देखिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले यस सहकारीबाट प्रवाह भएको ६८ लाख बराबरको ऋण शंकास्पद फेला पारेको हो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य ध्रुव आचार्यका अनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट २०७९ साल पुस १० गते नाै जना ऋणीको नाममा जनही २ लाखदेखि १० लाख रुपैयाँसम्मको ऋण प्रवाह भएको छ । यी तीन जनाको नाममा जम्मा ६८ लाख ३२ हजार ३४२ रुपैयाँ ऋण प्रवाह भएको छ ।
उनीहरूको नाममा ऋण प्रवाह गर्दा संस्थाको तर्फबाट तमसुक तयार पार्नेमा वेदनिधि दुवाडीले हस्ताक्षर गरेका छन् भने तमसुक चेकजाँच गर्नेमा लेखनाथ तिवारी रहेका छन् । तमसुक प्रमाणित गर्नेमा संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत रहेका सुरेन्द्र भण्डारी हस्ताक्षर गरेका छन् ।
ऋण लिनेहरूमा आठ जना काठमाडौं उपत्यकाकै रहेका छन् भने एक जना सोलुखुम्बुका छन् । तर, यी नौ जनाले नै आफूहरूले ऋण लिएको स्वीकारेका छैनन् ।
यी नौ जना ऋणीहरूले नाममा गएको ऋणमा न धितो राखिएको छ न त जमानी नै राखिएको छ । त्यसबेला संस्थाले ऋण प्रवाह गर्दा ऋण माग फारम, नागरिकता, जमानीको तमसुक, ऋण तमसुक र ऋण भौचर मात्रै रहेको छ । यी नौ जनाको नाममा प्रवाह भएको ऋणको भुक्तानी भने भएको छैन ।
प्रमाण हेर्दा उनीहरूले ऋण लिएको देखिन्छ । तर, यी नौ जना नै ऋणीहरू आफूले ऋण नै नलिएको भन्दै बारम्बार समितिमा धाइरहेका छन् । उनीहरू कहिले सहकारी सञ्चालकलाई भेट्न पुग्ने गरेका छन् भने कहिले मुद्दा हाल्छौँ भन्दै समितिका पदाधिकारीहरूलाई धम्क्याउँदै आएका छन् ।
‘नौ जना नै हाम्रो सम्पर्कमा आउनु भएको छ । उनीहरूले आफूहरूले ऋण नै नलिएको दाबी गरिरहेका छन्’, समितिका सदस्य आचार्यले भने, ‘तर नागरिकता प्रयोग गर्दै उनीहरूको नाममा ऋण प्रवाह भएको छ । जुन ऋण एकैदिन प्रवाह भएको तथ्य हामीले फेला पारेका छौँ ।’
उनीहरू न्याय खोज्न अदालत जाने समेत तयारीमा रहेको पाइएको छ । ती ऋणीहरूले यो सहकारी समस्याग्रस्त घोषणा भएको बखतमा सचिव र प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका सुरेन्द्र भण्डारीलाई समेत भेटेको खुलेको छ ।
लालीगुराँस सहकारीका प्रतिनिधि भन्दै एउटा चिठ्ठी बोकेर केही व्यक्ति समितिमा समेत आएका थिए । यी ऋणीहरूको ऋण लालीगुराँस सहकारीको खातामा रहेको पैसाबाट मुक्त गरिदिनु भन्दै उनीहरू समितिमा आइपुगेका थिए । तर, समितिका अध्यक्ष श्रीमण कुमार गौतमले यस्तो असम्भव भएको जानकारी गराउँदै काम गर्न नसक्ने भन्दै उक्त पत्रमा तोक लगाइदिए ।
आफूले यस्तो नगर्ने भन्दै पत्र बोकेर आएकाहरूलाई फर्काइदिएको अध्यक्ष गौतमले स्वीकारे । यसबारे सुरेन्द्र भण्डारीसँग समितिले सोधखोज गर्दा उनले यसबारे आफू अनविज्ञ रहेको भन्दै तर्केका थिए ।
ऋणीले ऋण नलिएको दाबी गरिरहेकै बेला सहकारीका केही प्रतिनिधिहरू यो ऋण संस्थाको नाममा रहेको पैसाबाटै घटाइदिनु भन्दै समिति आएकोले नक्कली ऋणी खडा गरेर सञ्चालक आफैले ऋण लिएको हुनसक्ने समितिको आशंका छ । यसबारे अनुसन्धान भइरहेको समेत समितिका सदस्य आचार्यले जानकारी दिए ।
उनले नेपाल प्रेससँग भने, ‘जसको नाममा ऋण दिएको भनिएको छ उनीहरूले लिएकै छैनन् भनिरहेका छन् । लिएको ऋणको सावाँ तथा ब्याज वापतको रकम एक पटक पनि तिरेका छैनन् । फेरि सहकारीका प्रतिनिधि उनीहरूको ऋण संस्थाको खाताबाट घटाइदिनु भनिरहेका छन् । नक्कली ऋणी खडा गरेर ऋण प्रवाह भएको आशंकामा अनुसन्धान भइरहेको छ ।’
समितिले अन्य समस्याग्रस्त सहकारी संस्थाहरूले नक्कली ऋणी तयार पारेको ऋण प्रवाह गरेको थुप्रै तथ्य फेला पारेको छ । कुनै एउटा सहकारी संस्थामा एक अर्ब रुपैयाँ जम्मा भएको छ भने त्यही सहकारीका सञ्चालक, प्रबन्धक, ठूला कर्मचारीहरूको मिलेमतोमा अर्काको नागरिकता प्रयोग गरेर उसको नाममा ६/७ करोडसम्म ऋण प्रवाह गरेको देखिएको छ । त्यो ऋणको उपयोग सम्बन्धित नागरिकताधनीले नभई तिनै सञ्चालक, प्रबन्धक, ठूला कर्मचारीहरूले गरेको पाइएको समितिका अध्यक्ष गौतमले जानकारी दिएका छन् ।
पछिल्लो तथ्यांक अनुसार लालीगुराँस सहकारीका ऋणीहरूले लिएको ऋणको साँवा रकम तीन अर्ब ४४ करोड ९७ लाख ७९ हजार २४६ रुपैयाँ रहेको छ । हालसम्म लालीगुराँस सहकारीमा १०५० जना ऋणी रहेको प्रमाण भेटिएको छ । जसमध्ये करिब ८ सय ऋणीको बैंक खाता रोक्का गरिएको छ । ऋणीहरुको खाता बन्द गर्न थालेपछि समितिमा समस्याग्रस्त सहकारीका ऋणीहरु सम्पर्कमा धमाधम आइरहेका छन् ।
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था नेपालका ठूला सहकारीमध्येमा पर्दछ । ललितपुरको पुल्चोकमा कार्यालय रहेको यस सहकारीले २०५६ साल असोज १५ गतेदेखि कारोबार शुरु गरेको थियो । सहकारीको अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष हजुरी विष्ट, सचिव सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल, सदस्य अमल बाबा जोशी र भोलाकुमार श्रेष्ठ हुन् ।
सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले लालीगुराँस बहुउद्देश्यीय सहकारीलाई २०८० साल फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा भएपछि यस सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने काम समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरिरहेको छ ।