रविविरुद्धको मुद्दामा सरकारी पक्षबाट ७ र प्रतिवादीबाट ६ जनाले बहस गर्दै


चितवन । रवि लामिछानेविरुद्धको साहारा सहकारी ठगी मुद्दामा सरकारका तर्फबाट सातजना र प्रतिवादी लामिछानेका तर्फबाट ६ जना वकिलले बहस गर्ने भएका छन् ।
आज लामिछानेको बयान सकिएलगत्तै अदालतमा थुनछेक बहसको तयारी छ । चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भएको थियो ।
थुनछेक बहसमा सहभागी हुन वकालतनामा दर्ता गराउनेहरूमा सात जना सरकारका तर्फबाट र ६ जना प्रतिवादी तर्फका रहेका जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको तर्फबाट आजै सरुवा भएर आएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी रहेका छन् । त्यसैगरी सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले, शम्भु बर्तौला र सुनिता अधिकारीले जिल्ला अदालत चितवनमा वकालतनामा दर्ता गराएका छन् ।
भने, लामिछानेका तर्फबाट बहसको लागि एकजना वरिष्ठ अधिवक्ता सहित ६ जनाले वकालतनामा लिएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।