चितवनमा रविकाे थुनछेक बहस सुरु


काठमाडौं । जिल्ला अदालत चितवनमा रवि लामिछानेकाे मुद्दामा थुनछेक बहस सुरु भएको छ । आजैदेखि भएको थुनछेकमा सुरुवातको बहस सरकारी वकिलले गरिरहेका छन् ।
थुनछेक बहसमा सहभागी हुन वकालतनामा दर्ता गराउनेहरूमा सात जना सरकारका तर्फबाट र ६ जना प्रतिवादी तर्फका रहेका जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको तर्फबाट आजै सरुवा भएर आएका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, उपन्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदी रहेका छन् ।
त्यसैगरी सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र अधिवक्ताहरु रमेश काफ्ले, शम्भु बर्तौला र सुनिता अधिकारीले जिल्ला अदालत चितवनमा वकालतनामा दर्ता गराएका छन् ।
त्यस्तै, लामिछानेका तर्फबाट बहसको लागि एकजना वरिष्ठ अधिवक्ता सहित ६ जनाले वकालतनामा लिएका छन् । जसमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरू डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोले रहेका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए ।