टिकटकबाहेकका सामाजिक सञ्जालले सम्पर्क विन्दु तोकेनन्, सम्पर्कमा नआए फेसबुक पनि नेपालमा बन्द गर्ने चेतावनी (भिडिओ) – Nepal Press

टिकटकबाहेकका सामाजिक सञ्जालले सम्पर्क विन्दु तोकेनन्, सम्पर्कमा नआए फेसबुक पनि नेपालमा बन्द गर्ने चेतावनी (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा मनपरी लेख्ने र मनपरी गर्ने प्रवृत्ति बढेपछि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेस गरेको बताएका छन् । नेपाल टेलिकमको वार्षिकोत्सव समारोहमा बोल्दै उनले मनपरी लेख्न र बोल्न पाउने कुरा लोकतन्त्र नहुने बताए ।

उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अराजकतालाई स्वीकार्य नहुने बताए । उनले सरकार जनताको सुसूचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सचेत रहेको बताए । उनले कुनै पनि सामाजिक सञ्जाल सरकारमा दर्ता नभए प्रतिबध लगाउँने चेतावनी दिए ।

उनले भने, ‘हामीसँग अहिले दर्ता भएर, प्वाइन्ट अफ कनट्र्याक्ट तोकेर बसेको आज टिकटकमात्रै छ । हामीले मेटालाई बोलाइरहेका छौँ, आउँछ कि आउँदैन, हेर्न बाँकी छ । गुगल, माइक्रोसफ्ट होला । धेरै डिजिटल प्लेटफर्महरू छन् नि ! त्यो सरकारमा दर्ता भएर मात्रै चलाउन पाउनुपर्छ । दर्ता भएपछि प्वाइन्ट अफ कन्ट्र्याक्ट तोक्नुपर्छ । कन्टेन्टमा गल्ती गरेको बेलामा कसलाई समात्न सक्छौँ । त्यसलाई कारवाही गर्ने ठाउँ हामीले पाउनुपर्छ ।’

उनले सबै कानून अनुसार चल्नुपर्ने भएकाले दर्ता गर्न नआउने सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने बताए ।

उनले थपे, ‘हामीले धेरै पटक भनेका छौँ । आएको छैन । जोजो आउँदैन त्यो खारेज हुन्छ, त्यो चल्न प्रतिबन्ध हुन्छ । जोजो आउँछ उनीहरूलाई सहजरूपले चल्ने वातावरण बनाउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर