टेलिकमको २१औं वार्षिकोत्सव- सहज र सरल दूरसञ्चार सेवा प्रवाहको प्रण


काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयमा वार्षिकोत्सव विशेष कार्यक्रम गरिएको थियो ।
केन्द्रीय कार्यालयमा आयोजित समारोह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालको अध्यक्षतामा भएको थियो ।
प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गरे । मन्त्री गुरुङले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै नेपाल टेलिकमको समेत कार्यदक्षतामा परेको प्रभावको समीक्षा गर्दै सुधार गर्न आवश्यक रहेको बताएका थिए ।
सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले सर्वसुलभ रूपमा आम उपभोक्ताहरूलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकमको योगदानको प्रशंसा गरिन् । समस्त देशवासीलाई दूरसञ्चार सेवाको सहज उपभोग गर्न पाउने अवस्थाको सुनिश्चितता गर्दै डिजिटल विभाजन न्यूनीकरण गर्दै मुलुकलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा अझै योगदान गर्न कम्पनी सफल हुने उनको विश्वास थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको र आगामी दिनमा पनि अग्रणी स्थानमा रहेर सेवा प्रदान गर्न सक्षम रहोस् भन्ने शुभकामना व्यक्त गरे ।
सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले आम कर्मचारी वृत्तिविकासको सुनिश्चितताको अवसरलाई खुला राख्न आग्रहसहित प्रतिस्पर्धी वातावरणमा कम्पनीको स्थायित्वको लागि मन्त्रालय लगायत नियामक निकायबाट कम्पनीका लागि आवश्यक नीति निर्माण गर्न र कम्पनीलाई अग्रणी दूरसञ्चार सेवाप्रदायकको रुपमा राखिरहन आवश्यक सहयोगको अपेक्षा गरेका थिए ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै कम्पनीले मुलुकको ७७ वटै जिल्लामा फोरजी एलटीई प्रविधिमा आधारित मोबाइल र डाटा सेवा तथा अप्टिकल फाइवरमा आधारित एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको बताइन् ।
4G डाटाको खपत उल्लेखनीय रूपमा वृद्धि भई हाल कुल मोबाइल डाटा खपतको ९०% भन्दा बढी हिस्सा 4G सेवाले ओगटेको उनले जानकारी गराइन् । ग्रामीण दूरसञ्चार विकास कोष मार्फत जडान भएका Optical Fiber Network हरुको सह-प्रयोगको थालनी गरिएको, हाइवे नेटवर्क सुधारको कार्य निरन्तर अगाडि बढिरहेको र यथाशीघ्र फाइभजी प्रविधि भित्र्याउने तर्फ प्राथमिकताका साथ कार्य भइरहेको समेत बताउनुभयो . साथसाथै वार्षिकोत्सवको अवसरमा आजकै दिन देखि VoWiFi सेवा व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको र नेपाल टेलिकम एप र वेबसाइट मार्फत eSIM सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोले ग्राहकले अब eSIM लिनको को लागि काउन्टरसम्म धाउनुपर्ने अवस्थाको अन्त्य भएको पहाडीको भनाइ थियो ।
कम्पनीले शिक्षा, स्वास्थ्य, सामाजिक विकास, वातावरण संरक्षण, प्रकोप व्यवस्थापन, गरिवी निवारण, उद्यमशीलता र खेलकुदका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै प्रबन्ध निर्देशक पहाडीले सोही अन्तर्गत २०८१ सालको SEE परीक्षामा सहभागी हुने विकट क्षेत्रका सरकारी र सामुदायिक विद्यालयका २ लाख विद्यार्थीलाई अनलाइन माध्यमबाट नि:शुल्क शिक्षा सेवा उपलब्ध गराउन सहयोग गरेको बताइएको थियो ।
त्यस्तै आगामी दिनमा देशका ३ अन्तर्राष्ट्रिय र ३१ आन्तरिक विमानस्थलमा निःशुल्क Wi-Fi सेवा उपलब्ध गराउने, विभिन्न सामुदायिक पुस्तकालयहरूमा इ-लाइब्रेरी सेवा उपलब्ध गराउने, दृष्टिविहीन र वृद्ध नागरिकलाई कम्प्युटर, सेतो छडी र थर्मस जस्ता उपयोगी सामग्री उपलब्ध गराउने, विगतमा जस्तै बाढी, पहिरो र भूकम्प आदि प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने कार्यलाई निरन्तरता दिइने पहाडीले बताइन् ।