चितवन निकुञ्जको पूर्वी क्षेत्रमा चार दिनमै सारियो चार गैँडा – Nepal Press

चितवन निकुञ्जको पूर्वी क्षेत्रमा चार दिनमै सारियो चार गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा रहेका मध्य चार वटा वयस्क गैँडालाई पूर्वी क्षेत्रमा स्थानान्तरण गरेर सकिएको छ । गत शनिबारदेखि सुरु गरिएको स्थानान्तरण कार्य मंगलबार साँझ चौथो गैँडा स्थानान्तरणपछि सकिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको संख्या बढी र पूर्वी क्षेत्रमा कम भएपछि वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागको अध्ययन टोलीको सुझाव अनुसार गैँडा स्थानान्तरण सुरु गरिएको थियो ।मङ्गलवार साँझ राप्ती नगरपालिका क्षेत्रमा पर्ने खगेन्द्रमल्ली पोष्ट नजिकको राप्ती नदी किनाराबाट चौथो गैँडालाई पूर्वी क्षेत्रमा लगेर छोडेपछि गैँडा स्थानान्तरण सम्पन्न भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।

प्रमुख संरक्षण अधिकृत डा. पन्तका अनुसार अहिलेसम्म छोडिएका चारवटै गैँडा प्रजनन उमेर समूहका वयस्क हुन् । १२ देखि १८ वर्ष उमेर समूहका ती चार वटा मध्ये ३ वटा पोथी छन् भने भाले एउटा मात्रै छ । उनका अनुसार दुई वटा भाले र दुईवटा पोथी गैँडा स्थानान्तरण गरिने भनिए पनि गैँडा खोज्दा वयस्क उमेर समूहका र प्रजनन गर्नसक्ने तीनवटा पोथी र एउटा भाले पाइएपछि सोही अनुसार गरिएको हो ।

पछिल्लो गणना अनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । त्यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी छ सय ९४ गैँडा रहेका छन् ।

विभागको टोलीले गरेको अध्ययन अनुसार गैँडाको संख्या पनि पूर्वी क्षेत्रमा ४० प्रतिशत मात्रै रहेको छ । जसका कारण गैँडाको जनघनत्व बढी भएकोतर्फ गैँडा स्वयं पनि एकअर्कामा जुध्ने, मानव गैँडा द्वन्द्व हुने लगायतको अवस्था आउने कुरालाई पनि व्यवस्थापनको लागि १० वटा गैँडा स्थानान्तरण गर्ने सुझाव दिइएको थियो । सोमध्ये ६ वटा गैँडा अघिल्लो वर्ष स्थानान्तरण गरिएको थियो भने यो वर्ष ४ वटा गरिएको हो ।

अघिल्लो वर्ष स्थानान्तरण गरिएको गैँडाको गतिविधि अनुगमन गर्न प्रभावकारी काम गर्न नसकिएपछि यसवर्ष भने सरकारले चारवटै गैँडाको शरीरमा रेडियो कलर जडान गरेर निकुञ्जमा स्थानान्तरण गरिने निर्णय गरेको थियो । सोही अनुसार चारवटै गैँडाको शरीरमा रेडियो कलर समेत जडान गरिएको छ ।

‘यो नियमित हुने स्थानान्तरण होइन । गैँडाको गतिविधिको अध्ययन र सङ्ख्या व्यवस्थापनको लागि गरिएको हो । यो स्थानान्तरण पछि गैँडाको जनसंख्या तुलना गरेर फेरि अध्ययन विश्लेषण हुन्छ । सोही आधारमा सरकारले निर्णय गर्छ’, प्रमुख संरक्षण अधिकृत डा. पन्तले भने, ‘पहिले गैँडाको शरीरमा रेडियो कलर जोडिएको थिएन । हामीले आइडी बेस मोनिटरिङ मात्रै गर्यौँ । त्यसैले पनि सबैको नियमित अनुगमन पनि सम्भव हुँदैन । अहिले सबै गैँडालाई रेडियो कलर लगाएर स्थानान्तरण गरिनु अध्ययनको प्रयोजन पनि हो ।’

तर, उक्त क्षेत्रमा १० वटा गैँडा स्थानान्तरण गरेर ल्याएर जनसंख्या व्यवस्थान भइहाल्छ भन्ने कुरामा स्वयं प्रमुख संरक्षण अधिकृत डा। पन्त पनि ढुक्क भने छैनन् । चितवन राष्ट्रिय निकुञ्जमा पनि पछिल्लो समय गैँडाको वासस्थानका लागि चाहिने घाँसे मैदान र सिमसार क्षेत्र लोप हुँदै गएका छन् ।

निकुञ्ज स्थापनाको समयमा २० प्रतिशत घाँसे मैदान रहेकोमा अहिले घाँसे मैदानको क्षेत्र ह्रास भएर जम्मा १० प्रतिशतमा झरेको सरकारकै आँकडा छ ।

डा. पन्तका अनुसार प्रतिवर्ष निकुञ्जले १ हजार हेक्टर बराबरको घाँसे मैदान व्यवस्थापन गर्नुपर्नेमा रकम अभावका कारण ५ सय हेक्टर मात्रै व्यवस्थापन गर्न सकिने अवस्था रहेको उनले बताए । उनले वासस्थान संरक्षणको लागि सरकारले स्रोत बढाउनुपर्ने अवस्था रहेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *