ग्याङहरू ठेगान लगाएको एल साल्भादोरको अमेरिकालाई प्रस्ताव- तिम्रा अपराधीहरू लेउ, पैसा देऊ


काठमाडौ । ल्याटिन अमेरिकी मुलुक एल साल्भादोरले अमेरिकासँग अदालतबाट प्रमाणित अपराधीहरू पठाउन माग गरेको छ ।
हजारौँ ग्याङ सदस्यहरूले तहसनहस बनाएको देशमा ग्याङलाई नै तहसनहस बनाएर चर्चित बनेका राष्ट्रपति नायिव बुकेलेले यस्तो आग्रह गरेका हुन् ।
४३ वर्षका राष्ट्रपति बुकेलेले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटमा यस्तो प्रस्ताव गरेको रुबियोले सार्वजनिक गरिसकेका छन् ।
अमेरिकाको स्टेट डिपार्टमेन्टले दिएको सूचना अनुसार एल साल्भादोरले आपराधिक आप्रवासीहरू, भेनेजवेलाका ग्याङ सदस्यहरू तथा अरू अपराधीहरू लिन तयार भएको बताएको छ । त्यसमा अमेरिकाले धन्यवाद दिएको छ ।
रुबियोले सार्वजनिक गरेपछि बुकेलेले पनि सामाजिक सञ्जाल एक्समा यसको औपचारिक पुष्टि गरेर आफूले त्यस्तो प्रस्ताव गरेको बताएका छन् । उनले अमेरिकासँग पैसा लिएर अपराधिहरु ल्याउन सकिने बताएका छन् ।
उनले यसलाई ‘अमेरिकी जेल प्रणाली’ एल साल्भादोरमा सार्ने नाम दिएका छन् । अमेरिकालाई थोरै रकममा त्यस्तो सुविधा दिने भन्दै बुकेलेले त्यसले एल साल्भारोको जेल प्रणाली पनि दिगो हुने बताएका छन् ।
सन २०२३ मा एल साल्भादोरले बनाएको मेगा जेलमा ४० हजार कैदी अटाउने बीबीसीले उल्लेख गरेको छ । आतंकवाद नियन्त्रण कक्ष भनेर चिनिने यसलाई धेरैले प्रशंसा र केहीले आलोचना गरेका छन् ।
जथाभावी पक्राउ गरिएको, परिवारलाई भेट्न नदिइएको र यातना दिइएको तथा दुई छाक खाना बाहेक केहि नदिइएको भन्दै मानव अधिकार पक्षधरहरूले आलोचना गर्दै आएका छन् । तर, राष्ट्रपति बुकेलेले आतंकवाद अन्त्य गर्न यो आवश्यक भएको बताएका छन् ।
उनी यही मुद्दाले चर्चित छन् । हाल ८० हजार भन्दा धेरै ग्याङ सदस्य थुनामा छन् । त्यसले संसारको सबैभन्दा जोखिमपूर्ण देशको सूचिमा परेको एल साल्भादोर त्यो सूचिमा तल आएको छ भने बुकेलेको लोकप्रियता चुलिएको छ ।
सन २०११ मा राजनीतिमा आउने उद्घोषण गरेका यि पूर्व व्यापारी सन २०१२ मा एल साल्भादोरको नोएभा कुस्काट्लान सहरको मेयर बने । सन २०१५ मा उनी सान साल्भादोरको पनि मेयर भए । तर, उनले राष्ट्रपति बन्न खोज्दा उनको दलले उपराष्ट्रपतिको पनि नाम दिन चाहेन ।
उनले विद्रोह गरेर आफै दल खोले । सन २०१९ मा राष्ट्रपति बने । सन २०२४ मा दोहोरिए । एलन मस्क र ट्रम्पसँग सीमा सम्पर्क भएका उनी अमेरिकी चुनावमा खुलेर ट्रम्पको पक्षमा लागेका थोरै विश्व नेतामा एक नेता थिए । अहिले उनैको पहलमा अपराधीहरू एल साल्भादोर ल्याउने चर्चा चलेको छ ।