रवि लामिछानेलाई संगठित अपराधमा मुद्दा नलगाउँदा चितवनका सरकारी वकिलको सरुवा – Nepal Press

रवि लामिछानेलाई संगठित अपराधमा मुद्दा नलगाउँदा चितवनका सरकारी वकिलको सरुवा

चितवन । सहारा सहकारीको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भए लगत्तै चितवनका जिल्ला न्यायाधीवक्ताको सरुवा भएको छ । लामिछानेलाई संगठित अपराधमा मुद्दा नलगाएकै कारण सरुवातकाे पत्र थमाइएकाे हाे ।

हिजो लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा प्रहरी प्रतिवेदनले लामिछानेलाई संगठित अपराध र ठगी दुवै मुद्दा लगाउन सुझाव दिएको थियो ।

तर, जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आबद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषाभित्र उनको अपराध नदेखिने निक्र्यौल गरी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो । यद्यपि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कमा आबद्ध तीन जना भने गोर्खा मिडिया बाहेक अन्य संस्थामा पनि आबद्ध रहेको देखिएकोले उनीहरूलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको थियो ।

‘संगठित अपराधमा नै मुद्दा दर्ता गर्न दबाब थियो’, जिल्ला सरकारी वकिल कार्यालय स्रोतले नेपाल प्रेससँग भन्यो,  ‘कानूनको परिभाषाले नै नभेट्ने अपराधमा अभियोग लगाउन उहाँले सक्नुभएन, त्यसैले हिजै सरुवाको पत्र आयो ।’

लुइँटेलले मुद्दा दर्ता भएको केही बेरमा नै महान्यायाधीवक्ताको आदेशमा काठमाडौँ तानिएको बुझिएको छ । उनलाई महान्यायाधीवक्ताको कार्यालयमा तान्नेगरि सरुवा गरिएको पत्र हिजै पठाइएको बुझिएको छ । सरुवाको पत्र प्राप्त भए लगत्तै रवि लामिछानेसहितको ठगी तथा संगठित अपराधको मुद्दामा उनले बहस नगर्ने भएका छन् ।

स्रोतका अनुसार आज बिहानै जिल्ला न्यायाधीवक्ता लुइँटेलले चितवन छोडिसकेका छन् ।

लुइँटेल काठमाडौँ तानिए लगत्तै आजै चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उप न्यायाधीवक्ता रवि न्यौपाने हाजिर हुने भएका छन् । उनलाई बुटवलबाट चितवन पठाउने हिजै निर्णय गरिएको बुझिएको छ ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेलाई संगठित अपराधमा मुद्दा नलगाउँदा चितवनका सरकारी वकिलको सरुवा

  1. कालो काङ्ग्रेस र भ्रष्ट एमालेको यो अपराधी सरकार जसरी पनि रबिलाई झुठो आरोपमा फसाउन लागिपरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *