ओमानबाट सुरु भयो विदेशमा पहिलो वैधानिकीकरण श्रम स्वीकृति प्रक्रिया


काठमाडौं । विदेशबाटै श्रम स्वीकृति दिने चलन पहिलोपटक ओ मानबाट सुरु भएको छ । नेपाली राजदूतावास, मस्कटको पहलमा विदेशमा पहिलो पटक ओमानको सलालामा वैधानिकीकरण श्रम स्वीकृति ३१ जनवरी २०२५ बाट सुरु भएको हो ।
राजदूतावासको जानकारी मा भनिएको छ, ‘नेपाली राजदूतावासले ३१ जनवरी देखि ०१ फेब्रुअरी २०२५ सम्म सलालामा आयोजना गरेको राजदूतसँग प्रत्यक्ष संवाद, अन्तरक्रिया, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलर सम्बन्धी विशेष कार्यक्रममा वैधानिकीकरण श्रम स्वीकृति पनि प्रदान गरिएको थियो । विभिन्न माध्यमबाट ओमान आई वैध रुपमा कम्पनीमा कार्यरत रहनु भएका नेपाली श्रमिकहरुलाई नेपाली राजदूतावास, मस्कटले नै वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था भएको छ ।’
राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सुर्य बहादुर खत्रीले संयुक्त रुपमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सुरु गरेका थिए भने वैदेशिक रोजगार विभागका कम्प्यूटर ईन्जिनियर श्री नरेश प्रसाद दासले सबै प्राविधिक व्यवस्था गरेका थिए ।
मस्कटबाट करिब ११०० किलो मीटर टाढा रहेको सलालामा नै राहदानीनवीकरण, बैधानिकीकरण श्रम स्वीकृति, विभिन्न जानकारी सहितको सेवा राजदूतावासले नियमित प्रदान गरेकोले सलालास्थित नेपाली श्रमिकहरुले खुसी व्यक्त गरेको राजदूतावासले उल्लेख गरेको छ । कार्यक्रममा सलालास्थित नेपाली सोसल क्लबका प्रतिनिधिहरू, स्वयंसेवकहरु लगायत नेपाली संघसंस्थाको कार्यक्रम अवधिभर सक्रिय सहभागिता र सहयोग रहेको थियो ।
साथै ०३ फेब्रुअरी २०२५ (मिति २०८१/१०/२१) मा नेपाल घर, मस्कटमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी वैधानिकीकरण श्रम स्वीकृतिको सुरुवात भएको थियो । राजदूतावासका अनुसार सोही अवसरमा राजदूत र वैदेशिक रोजगार विभागका महानिर्देशक लगायतको टोलीसँग श्रम, आर्थिक कूटनीति, संघ सस्थाका सरोकार लगायतका विषयहरूमा अन्तरक्रिया गरिएको थियो ।