प्रेस चौतारी रामेछापको अध्यक्षमा लेखबहादुर विक, विशेष पत्रकारिता पुरस्कार सुमित्रा लामालाई


रामेछाप । प्रेस चौतारी नेपाल रामेछापको पाँचौँ जिल्ला अधिवेशन मंगलबार मन्थलीमा सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यता र प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाको विशिष्ट आतिथ्यतामा भएको जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको हो ।
अधिवेशनबाट लेखबहादुर विकको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । समितिको उपाध्यक्षमा शान्ता श्रेष्ठ, समावेशी उपाध्यक्षमा सीता पुरी, सचिवमा डोरशंकर बरुवाल, सहसचिवमा कुमार मिजार र मणिराज लिखुचा तथा कोषाध्यक्षमा शर्मिला बिसुन्के निर्वाचित भएका हुन् ।
सदस्यहरूमा भवानी खड्का र सञ्जना रसाइली निर्विरोध चयन भएका छन् । चौतारीको केन्द्रीय प्रतिनिधिमा युनिकविफा घिसिङ र पार्वती पाठक चुनिएका छन् भने प्रदेश प्रतिनिधिमा नवराज श्रेष्ठ र सुमित्रा लामा चयन भएका हुन् ।
संस्थाको स्थापना दिवस पारेर आयोजना गरेको कार्यक्रममा यस वर्षको प्रेस चौतारी नेपाल रामेछापको विशेष पत्रकारिता पुरस्कार सुमित्रा लामालाई प्रदान गरिएको छ ।
सोही कार्यक्रममा प्रेस चौतारी नेपाल रामेछापको पत्रकारिता कोष स्थापनामा सहयोग गर्ने नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतम, नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख राकेश श्रेष्ठ लगायतका सहयोगीलाई सम्मान गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघमा रामेछापबाट निर्वाचित केन्द्र र प्रदेश समिति सदस्य तथा जिल्लाका पदाधिकारी, सदस्य र केन्द्र तथा प्रदेश प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरीया, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, प्रेस चौतारी नेपाल वाग्मती प्रदेशका महासचिव प्रकाश दाहाल, नेकपा एमाले रामेछापका प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठ, पत्रकार महासंघ रामेछापका उपाध्यक्ष युनिक विफा घिसिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।