उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरु उच्च अदालतबाट पनि दोषी ठहर, जिल्लाको फैसला सदर


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरु उच्च अदालत पाटनबाट पनि दोषी ठहर भएका छन् । यस अघि जिल्ला अदालत काठमाडौंले गरेको २ वर्ष कैद सजायको फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको हो ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले जिल्लाको कैदसम्बन्धी सजायलाई सदर गरेको तर, क्षतिपूर्तिको रकम भने जिल्लाभन्दा उच्चले घटाएको उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतले एक वर्ष अघि २०८० मंसिर ७ मा चलाउनेलाई आक्रमणमा संलग्न योगेन्द्र रावल, हरि आचार्य, निरज रानामगर, रुपेश शाह, रविनकुमार लामा र सयुज श्रेष्ठलाई दोषी ठहर गरी दुई वर्षको कैद सजाय र २० हजार जरिवानाको गर्ने फैसला सुनाएको थियो ।
साथै, चलाउनेलाई २८ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश गरेको थियो । उच्चले भने ३ लाख क्षतिपूर्ति घटाएर २४ लाख मात्र क्षतिपूर्ति भराउने आदेश गरेको छ । उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा त्रिवि परिसरमै मरणासन्न हुने गरी आक्रमण भएको थियो ।
पीडित चलाउनेकोतर्फबाट अधिवक्ता बसन्त जोशी, ध्रुबलाल श्रेष्ठ, ओमप्रकाश अर्याल, सुजाता मर्हजन, टीकाबहादुर कुँवर, भुपाल बस्नेत, यज्ञराज पाण्डे, चन्द्रप्रसाद भुषाल, रत्नकेशरी महर्जन, भिमसेन काफ्ले र झंकर खत्रीले बहस गरेका थिए ।
विपक्षी पीडकको पक्षबाट सबै काँग्रेस निकट बरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्मले बहस गरेका थिए । जसमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्व अध्यक्ष शेरबहादुर केसी, काँग्रेस सम्वद्ध प्रजातान्त्रिक कानून व्यवसायी संघ (डीएलए)का अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, ३३ वर्ष न्यायाधीश जिवन बिताएका दयानाथ खरेल, डीएलएका अध्ययक्ष सिताराम केसी, डीएलए काठमाडौंका सचिव उज्जवलराम घिमिरे, डीएलएका पूर्व अध्यक्ष यदुनाथ खनाल, अधिवक्ता शंकर पौडेल, राजकुमार उप्रेती सहित १३ जनाले बहस गरेका थिए ।