अभियानको पहिलो दिन डोटीमा ४ हजार ७०० ले एचपीभी खोप लगाए

डोटी । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानको पहिलो दिन मंगलवार डोटीमा ४ हजार ७ सय ९४ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाभरीमा सो संख्यामा किशोरीहरुले एचपीभी खोप लगाएका हुन् । पहिलो दिन सबैभन्दा बढी शिखर नगरपालिकाका खोप लगाईएको छ ।
यस पालिकामा १ हजार ७२ किशोरीहरुले खोप लगाएको स्वास्थ्य कार्यालयका खोप कार्यक्रम संयोजक सूर्य बिष्टले दिएको जानकारीअनुसार दिपायल सिलगढी नगरपालिकामा ७ सय ६०, केआई सिंहमा ५ सय ७४, आदर्श गाउँपालिकामा ५ सय ७२ र पूर्वीचौकी गाउँपालिकामा ५ सय २२ जना किशोरीहरुले खोप लगाएका छन् ।
यस्तै, सायल गाउँपालिकामा ५ सय ४, बोगटान फुड्सिल गाउँपालिकामा ४ सय १०, बडीकेदार गाउँपालिकामा २ सय ३५ र जोरायल गाउँपालिकामा १ सय ४५ जना किशोरीहरुले खोप लाएका छन् ।
मंगलवार जिल्ला समन्वय समिति डोटीका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक लक्ष्मणवहादुर सिंहले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियानको सुभारम्भ गरेका थिए ।