त्रिवि आफैंले बनाएको मापदण्डविपरीत कमर्स क्याम्पसमा प्रमुख नियुक्त, भेटियो निजी कलेजमा लगानी – Nepal Press

त्रिवि आफैंले बनाएको मापदण्डविपरीत कमर्स क्याम्पसमा प्रमुख नियुक्त, भेटियो निजी कलेजमा लगानी

शिक्षाध्यक्ष भन्छन्- उजुरी आएपछि छानबिन भइरहेको छ, उपकुलपतिसमक्ष कानूनी सल्लाहकारले दिएको रायका आधारमा निर्णय हुन्छ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुख नियुक्त गर्दा विधि पद्धति मिचेको पाइएको छ । मेरिट भनेर नथाक्ने उपकुलपति डा.केशरजंग बरालले क्याम्पस प्रमुख नियुक्तिमा भागबन्डा गरेको आरोप लागिरहेका बेला मापदण्डसमेत मिचेको पाइएको हो ।

त्रिविले क्याम्पस प्रमुख पदमा नियुक्तिको लागि सिफारिस गर्ने आधार र मापदण्ड बनाएको छ, तर उक्त आधार र मापदण्डलाई नै लत्याएर नेपाल कमर्स क्याम्पसको प्रमुख नियुक्त गरिएको प्रमाण भेटिएको छ । यो एउटा उदाहरणमात्र हो- उपकुलपति बरालको ‘मेरिट’ मटियामेट भएको ।

काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी)मा त्रिविकै मापदण्डविपरीत प्रमुखमा सहप्राध्यापक डा. जीतेन्द्रप्रसाद उपाध्यायलाई नियुक्त गरेको पाइएको छ ।

उपाध्याय स्वयम्ले निजी कलेजमा लगानी गरेको र श्रीमतीको कलेजमा अझै शेयर रहेको प्रमाण हुँदाहुँदै पनि उनले एनसीसी क्याम्पसको प्रमुख हात पार्न सफल भएका छन् ।

जबकि त्रिविको नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ अनुसार निजी कलेजमा लगानी नगरेको र परिवारको सदस्यको लगानी नभएको घोषणा गरेको हुनुपर्ने भनेको छ ।

गत पुस ९ गते त्रिविको शिक्षाध्यक्षको कार्यालयले नेपाल कमर्स क्याम्पसको प्रमुखका लागि आवेदन खुलाएको थियो ।

त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ बमोजिम आवदेन दिएकाहरुमध्येबाट नेपाल कमर्स क्याम्पसमा रिक्त प्रमुख नियुक्त गरिने उल्लेख थियो ।

सोहीअनुसार पुस २८ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले बैठक बसेको ५ दिनभित्र त्रिविका आंगिक क्याम्पसहरुमा प्रमुख नियुक्ति गर्ने निर्णय गरेको थियो । उक्त निर्णयबमोजिम पुस २८ गते विभिन्न २४ वटा क्याम्पसमा प्रमुखको नियुक्ति गरेको थियो, तर नेपाल कर्मस क्याम्पसको प्रमुख नियुक्त गर्दा भने त्रिविले नै बनाएको मापदण्ड पालना नगरिएको देखिएको छ ।

यस्तो छ त्रिविको मापदण्ड

त्रिभुवन विश्वविद्यालय क्याम्पस प्रमुख पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ को परिच्छेद १९ मा क्याम्पस प्रमुख पदमा नियुक्तिका लागि सिफारिससम्बन्धी व्यवस्था गरिएको छ ।

परिच्छेद १९ को बुँदा ३९ मा सिफारिस गर्ने आधार तथा मापदण्डहरु तोकिएको छ । ३९ को (१) शैक्षिक उपाधि, अनुभव, योजना तथा प्रतिबद्धताको बुँदा (छ) मा विश्वविद्यालयका सम्बन्धित अध्ययन संस्थान वा सङ्कायसँग स्वार्थ बाझिने गरी विभिन्न निजी शैक्षिक संस्थाहरूमा (चिकित्साशास्त्र अध्यन संस्थानको हकमा निजी स्वास्थ्य संस्थाहरू र इन्जिनियरिङ सेवाको हकमा परामर्शलगायतका कुनै पनि सेवा) सम्बन्धित व्यक्तिको लगानी नभएको/नगरेको स्वघोषणा हुनुपर्नेछ ।

साथै बुँदा ३९ को (२) मा उम्मेदवार हुन आवेदनका साथ पेस गर्नुपर्ने कागजातहरूसम्बन्धी व्यवस्था उल्लेख गरेको छ । २ को (ङ) मा भनिएको छ, ‘विश्वविद्यालयका सम्बन्धित अध्ययन संस्थान वा सङ्कायसँग स्वार्थ बाझिने गरी कुनै पनि निजी शैक्षिक संस्थाहरूमा सम्बन्धित व्यक्ति संलग्न तथा परिवारको समेत लगानी नभएको/नगरेको स्वघोषणा गर्नुपर्ने छ ।’

क्याम्पस प्रमुख हुन आफ्नो या परिवारको नाममा निजी कलेजको सञ्चालक या शेयर धनी हुन पाइँदैन, तर कमर्स क्याम्पसमा प्रमुख नियुक्त गरिएका सहप्राध्यापक डा. उपाध्यायले मापदण्डविपरीत निजी कलेजमा लगानी गरेको पाइएको छ । उपाध्यायले एभरेस्ट कलेज प्रालिमा लगानीे गरेको खुलेको छ । त्यतिमात्र नभई उपाध्यायकी श्रीमती पूजा कुइँकेल एभरेस्ट कलेजकी सञ्चालक सदस्यसमेत हुन् ।

उपाध्यायले आफनो नाममा कायम रहेको प्रतिशेयर कित्ता नं १५००१ देखि २२५०० सम्मको ७५०० थान र शेयर कित्ता नं ५६२६१ देखि ५८१४० सम्मको १८८० थान शेयरसमेत गरी जम्मा ९३८० कित्ता अर्थात ९ लाख ३८ हजार रकमको आफनो शेयर काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर ६ बस्ने श्रीमती पूजा कुइँकेलको नाममा २०८० पुस १० गते नामसारी गरेका छन् ।

यसअघि उपाध्याय एभरेस्ट कलेज प्रालिका सञ्चालक थिए । उनी एभरेस्ट कलेजको २०७० मंसिर ५ गतेदेखि नै सञ्चालक थिए । उनी सञ्चालक रहँदा श्रीमती पूजा भने आमन्त्रित सञ्चालक थिइन् । पछि उनै पूजा एभरेस्ट कलेजकी सञ्चालक भइन् । २०७७ पुस २६ गते कलेज सञ्चालकमा नियुक्त भएकी उनी २०८१ पुस २५ गतेसम्म पदमा थिइन् । एभरेस्ट कलेज प्रालिको सञ्चालकको दर्ता किताबमा पूजाको पेशा व्यापार भनी उल्लेख गरिएको छ ।

पूजा कलेज सञ्चालकमा रहँदै श्रीमान उपाध्यायले भने कमर्स क्याम्पसको प्रमुखको लागि आवेदन दिएका थिए । यता श्रीमतीको सञ्चालकको पदावधि नसकिँदै उपाध्याय क्याम्पस प्रमुखमा नियुक्त हुने लगभग पक्का भइसकेको थियो ।

हाल उपाध्यायको नामबाट कलेजमा लगानी नरहे पनि श्रीमतीको शेयर भने अझै छ । परिच्छेद १९ को ३९ मा सिफारिस गर्ने आधार तथा मापदण्डमा व्यक्ति संलग्न तथा परिवारको समेत लगानी नभएको/नगरेको स्वघोषणा गर्नुपर्ने भनेर प्रस्ट उल्लेख गरेको हुँदाहुँदै पनि छनोट समितिले उक्त पक्षलाई नजरअन्दाज गरेको देखिन्छ ।

कसरी हुन्छ नियुक्ति ?

त्रिविले रिक्त क्याम्पस प्रमुखहरु पदपूर्तिको लागि गत असोजमा छनोट समिति बनाएको थियो । त्रिविको क्याम्पस प्रमुख नियुक्ति प्रकिया परिच्छेद १९ को ३७ र ३८ मा उल्लेख गरिएको छ ।

३७ मा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय स्वायत्ततासम्बन्धी नियम २०६२ (२०७३/९/२० सम्मको संशोधनसहित) परिच्छेद ४ नियम ६ (२) क्याम्पस प्रमुखको नियुक्तिका लागि सञ्चालक समितिले संयोजकसहित ३ सदस्यीय एक सर्च कमिटी गठन गर्नेछ र सो समितिले सिफारिस गरेका त्रिवि सेवामा रहेका शिक्षकहरूमध्येबाट ३ जनाको नाम सञ्चालक समितिले कार्यकारी परिषद्मा नियुक्तिका लागि सिफारिस पठाउनेछ । त्यसरी सिफारिस भएकामध्ये एक जनालाई कार्यकारी परिषद्ले क्याम्पस प्रमुख पदमा नियुक्ति गर्नेछ ।’

त्रिविको क्याम्पस प्रमुख छनोट समितिले आवेदन दिएकामध्येबाट नियुक्तिको लागि सिफारिस तथा मापदण्ड पूरा गरे नगरेको हेरेर सिफारिस गर्नुपर्ने हुन्छ, तर कमर्स क्याम्पसको हकमा भने मापदण्ड पूरा नगरेको यथेष्ठ प्रमाण हुँदाहुँदै पनि नियुक्तिको लागि सिफारिस गरिएको देखिन्छ ।

के भन्छ त्रिवि ?

क्याम्पस प्रमुख उपाध्यायविरुद्ध उपकुलपतिसमक्ष उजुरी परेको थियो । भीसी प्रा.डा बरालले उजुरी शिक्षाध्यक्ष खड्क केसीलाई पठाएका थिए । शिक्षाध्यक्ष केसीले कानूनी सल्लाहकार प्रमुख नारायण खनाललाई कानूनी सल्लाहको लागि ४ दिनअघि पठाएका थिए । यसमा बिदा परेकाले मंगलबारमात्रै कानूनी सल्लाहकार प्रमुख खनालले राय लेखेर भीसीको कार्यालयमा पठाएका छन् ।

त्रिविका शिक्षाध्यक्ष (रेक्टर) खड्क केसीले नेपाल कमर्स क्याम्पसका उपाध्यायविरुद्ध भीसीको कार्यालयमा परेको उजुरीको विषयमा छानबिन भइरहेको नेपालप्रेसलाई बताए ।

राय गोप्य रुपमा उपकुलपतिकोमा गएकाले बुधबार कानूनी सल्लाहकारले दिएको राय कार्यकारी परिषद्को बैठकमा राखेपछि बाहिर सार्वजनिक गरिने उनले जानकारी दिए । उनले नियम कानूनअनुसार जे हुनुपर्ने हो, त्यही निर्णय गरिने बताए ।

उनी भन्छन्, ‘यो त नेपालमा सबैले गर्दै आइरहेको काम थियो । हामीले नै त्यो क्रमभंग गर्न खोजेको हो । हामीले कार्यविधि यस्तो बनाएका थियौं कि परिवारको सदस्य कसैको पनि निजी संस्थामा लगानी नभएको मान्छे भन्ने प्रावधान बनाएका थियौं । प्राध्यापक संघसंस्थाले व्यापक विरोध गरे । त्यसबाट केही प्रावधान हटाइयो ।’

तर क्याम्पस चीफको हकमा उपाध्यायले ल्याउनुपर्ने नम्बरसहित उनी नियुक्त भएको रेक्टर केसीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *