‘लाज शरणम्’मा पनि पाँडेकै भूमिकामा खेलेका अर्जुन भन्छन्- चार वर्षको मेहनतपछि यो चलचित्र बनेको हो – Nepal Press

‘लाज शरणम्’मा पनि पाँडेकै भूमिकामा खेलेका अर्जुन भन्छन्- चार वर्षको मेहनतपछि यो चलचित्र बनेको हो

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो, ‘लाज शरणम्’। लामो समय सिरियलमै दर्शकलाई झुमाएपछि यतिबेला यो टिम चलचित्र निर्माण तर्फ लागेको छ जसको टिजर केही समय अघि सार्वजनिक भइसकेको छ। लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । राम्रै हाइप बटुलिरहेको सिरियल भएकाले र चलचित्रको टिजर पनि उत्साह जगाउने नै भएकाले, यो चलचित्रको यतिबेला बजारमा राम्रै चर्चा छ।

चलचित्रमा सिताराम कट्टेल (धुर्मुस) छन। धुर्मुस र विजय बरालको चरित्रले यो चलचित्र झनै रमाइलो भएको हुनसक्ने धेरैको अनुमान छ। चलचित्र यहीँ फागुन १४ गते बाट महाशिवरात्रिको अवसर पारी प्रदर्शनमा आउँदैछ। चलचित्रका कलाकार अर्जुन घिमिरे (पाँडे)का अनुसार चार वर्षको मेहनतपछि यो चलचित्र बनेको हो। चलचित्रको कथा लेख्न थालेको करिब चार वर्षपछि ‘लाज शरणम्’ बनाउन निर्माण टिम कसिएको हो।

‘लाज शरणम्’ले कर्णालीका आम नागरिकको कथा भन्ने पाँडेको भनाइ छ। उनका अनुसार कर्णालीमा आम नागरिकले भोगिरहेको कथा र उनीहरूको जीवनसँग खेलवाड गर्ने उपल्लो वर्गको कथा ‘लाज शरणम्’मा देख्न पाइन्छ।

पाँडेका अनुसार चलचित्र डार्क कमेडी फर्ममा बनेको छ। उनी भन्छन,‘डार्क ह्युमर कमेडी फर्ममा कसरी हसाउँदा–हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले यो चलचित्रमार्फत दर्शाउन खोजेका छौ। हामीले हाम्रो करियरको यो लामो समय टेलिचलचित्रमार्फत दर्शकलाई हसायौँ । अब चलचित्रमार्फत हसाउने प्रयास गर्दैछौँ ।’

टेलिचलचित्रमा जस्तै चलचित्रमा पनि दर्शकको साथ रहनेमा आफूहरू ढुक्क रहेको उनी बताउँछन् । ‘सक्किगोनि’का अरु कलाकार फरक–फरक लुक्स र चरित्रमा देखिए पनि अर्जुन भने चलचित्र ‘लाज शरणम्’मा पनि पाँडेकै चरित्रमा देखिनेछन् । दर्शकले आफूलाई यही क्यारेक्टरमा मन पराइरहेकाले चलचित्रमा पनि यही पात्रमा राखिएको उनको भनाइ छ । उनका अनुसार चलचित्रमा उनी छोटो तर प्रभावकारी चरित्रमा छन।

चलचित्रमा ‘अर्जुन घिमिरे (पाँडे) कलाकारसँगै कार्यकारी निर्माता पनि हुन् । कुमार कट्टेल (जिग्री) यसका लेखक तथा निर्देशक हुन् । पोस्टर र टिजर दुवै दर्शकले मन पराउँदा चलचित्रले पनि मन जित्नेमा निर्माणपक्ष ढुक्क छ ।

‘लाज शरणम्’मा सिताराम कट्टेल (धुर्मुस) र विजय बरालसँगै मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई सुदीप बरालले छायांकन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर