लुम्बिनीमा क्यान्सर लागेका बिरामीको संख्या बढ्दै
प्रदेश सरकारसँग वार्षिक दुई हजारले माग्दै सहयोग, एकै वर्षमा ९ करोड खर्च


रुपन्देही । लुम्बिनी प्रदेशमा क्यान्सर लागेका विरामीको संख्या बढ्दै गएको छ । प्रदेश सरकारसँग वार्षिक दुई हजारले क्यान्सरको उपचारको सहयोग माग्दै निवेदन दिएका छन् भने एकै वर्षमा ९ करोड खर्च भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले क्यान्सर, मृगौला र मुटुको उपचारमा सहयोग गर्न गतवर्ष १३ करोड रुपैयाँ गरेको र क्यान्सरको उपचारको लागि मात्रै ९ करोड खर्च भएको बताए । प्रदेश सरकारले उपचारको लागि दुई लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।
अब रोग लागेपछि मात्रै उपचार गर्नेभन्दा रोग लाग्नै नदिनेगरी ध्यान दिन उनले आह्वान गरे ।
‘नसर्ने रोगका कारण नागरिकहरु पीडित हुनुपर्ने अवस्था छ । राज्यले आफ्नो तर्फबाट गर्ने सहयोग गरिरहेको छ’, उनले भने, ‘अब रोग नलाग्नेगरी स्वस्थ जीवनशैली अपनाउन जरुरी छ ।’
लुम्बिनी प्रदेशमा वार्षिक दुई हजार जना व्यक्ति क्यान्सर रोगको उपचारको लागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेका छन् । स्वास्थ्य सचिव डा. बासुदेव उपाध्यायले दुई चरणमा खोप लगाउन थालिएको र लक्षित उमेर समूहका किशोरीहरुलाई अनिवार्य खोप अभियानमा जोडिने जानकारी दिए ।
यसैबीच लुम्बिनीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालयले दाङको राप्ती गाउँपालिका स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले खोप अभियानको शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री आचार्यसहित स्वास्थ्यमन्त्री खेमबहादुर सारुले खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरेपछि अभियान सुरु भएको छ ।
१० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लक्षित गरेर खोप लगाउन थालिएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाइने छ । विद्यालय बाहिर रहेका किशोरीहरुलाइ अभियानमा सहभागी गराउन ध्यान दिन उनीहरुले आग्रह गर्दै रोग लाग्नै नदिनेगरी निरोगिता हुनेगरी स्वास्थ जीवनशैली अपनाउन आह्वान गरे ।’
विद्यालयमा रहेका किशोरीहरुले खोप पाउने पूर्ण सुनिश्चित छ । तर, विद्यालय बाहिर रहेका किशोरीहरुलाइ खोजेर अभियानमा अनिवार्य जोड्न जरुरी छ, सबै नछुट्नेगरी खोप लगाउन ध्यान दिनुपर्ने छ’, मुख्यमन्त्री आचार्यले भने, ‘लुम्बिनी प्रदेश सरकारले बार्षिक करोडौं रुपैयाँ क्यान्सरको उपचारमा सहयोग हुँदै आएको छ ।
लुम्बिनी प्रदेशका २ लाख ९० हजार एक सय २४ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ । आवश्यक पर्ने खोप सबै सम्वन्धित खोप केन्द्रहरुमा पठाइएको स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देही जिल्लाका ६१ हजार २ सय ३१ किशोरीलाई खोप लगाउने लक्ष्य छ । त्यसपछि दाङ जिल्लामा ४२ हजार ६७ जना, कपिलवस्तुमा ३९ हजार पाँच सय २५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
सबैभन्दा थोरै रुकुम पूर्वमा तीन हजार पाँच सय ९१ र अर्घाखाँचीमा नौं हजार तीन सय ३४ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको हो ।
पाल्पामा १२ हजार ५ सय ६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७ सय ९३, रोल्पामा १५ हजार ४ सय ७८, प्युडानमा १६ हजार तिन सय ३५, बर्दियामा २४ हजार ६५ जना र बाँकेमा ३४ हजार ९३ जनाले खोप लगाउने लक्ष्य राखिएको छ ।