भाकपा मार्क्सवादीको २४औं महाधिवेशन संकल्प- राज्य प्रायोजित हिन्दूत्वसँग लड्ने, त्रिपुरा र बंगालमा विस्तार हुने


काठमाडौं । हालै भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको आगामी अप्रिल पहिलो हप्ता तामिलनाडुको मदुराईमा हुने २४औं महाधिवेशनको लागि प्रस्ताव गरिएको संकल्प सार्वजनिक भएको छ । संकल्पमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा स्पर्श गरिएको छ ।
राष्ट्रको मुख्य अवस्थाको चित्रण गर्दै संकल्पमा राम मन्दिर निर्माण, एकै खाले सिभिल कोड जारी गरेर भारतीय जनता पार्टी (भाजपा)ले मुस्लिमविरोधी काम गरेको उल्लेख गरेको छ ।
भाजपा सत्ताको चरित्र राष्ट्रका सम्पत्तिहरुलाई ठूला पुँजीपतिहरुलाई हस्तान्तरण गर्ने र प्रजातन्त्रमा आक्रमण गर्ने बताइएको छ । भारतको अमेरिकासँगको साझेदारीलाई साम्राज्यवादसँगको साझेदारी भन्दै बहुध्रुवीय विश्व बन्दै गरेकोले त्यो कमजोर भएको लेखिएको छ ।
सन् २०२४ को लोकसभा चुनावम भाजपाले एकल बहुमत नल्याए तापनि आगामी चुनावमा बहुमत ल्याउन व्यापारिक तथा धार्मिक मुद्दा लगाएर सर्वसत्तावाद लादेर प्रयत्न गर्ने बताइएको छ ।
संकल्पमा भाकपा मार्क्सवादीको शक्ति बढाउन विभिन्न बुँदाहरु लेखिएको छ । जसमा हिन्दूत्वको मुद्दा बोक्ने आरएसएसका मुद्दालाई काउन्टर गर्ने, पश्चिम बंगला र त्रिपुरामा बलियो हुने भन्दै अहिले दलको सबैभन्दा ठूलो जनसमर्थन केरेलामा भएको र त्यहाँ लगालग दुई पटक सरकार बनेको, तर पनि त्यहाँ धेरै समस्या भएको बताइएको छ ।
राजनीतिक लाइनमा मोदी सरकारलाई दक्षिणपन्थी, सर्वसत्तावादी, नवफाँसीवादीको उपमा दिइएको छ । हिन्दूत्व बोक्ने भाजपासँग भिड्न सबै धर्म निरपेक्ष शक्तिहरु गोलवन्द हुनुपर्ने बताइएको छ । मोदी र हिन्दूत्वविरुद्ध मास र क्लास दुवै संघर्ष हुनुपर्ने लेखिएको छ ।
संकल्पको कदमहरुमा श्रमजीवी ग्रामीणका विपन्न, श्रमिक वर्ग तथा शहरी विपन्नको पक्षमा पार्टी हुने लेखिएको छ । महिला, दलित, आदिवासी र धार्मिक अल्पसंख्यकहरुको पक्षमा पार्टी हुने बताइएको छ । साथै भारतीय जनताको सम्राज्यवादविरोधी मानसिकतालाई अझ बढाउने कुरालाई संकल्पका कदमहरुमा अटाइएको छ ।