अभिजितले गरे उदितनारायणको बचाउ, युवतीहरु नै क्रेजी भएको तर्क
मलाई पनि एकचोटी युवतीहरुले घेरेर खतरनाक किस गरेका थिए र गालाभरि लिपिस्टिक लागेको थियोः अभिजित


काठमाडौं । किस स्क्यान्डलमा फँसेका गायक उदितनारायण झालाई समकालीन गायक अभिजित भट्टाचार्यले साथ दिएका छन् । उनले सो घटनामा उदितका फ्यानहरु नै जिम्मेवार रहेको औंल्याए ।
उदितप्रति महिला फ्यानहरु क्रेजी हुने गरेको र पुरुष गायकहरुले यस्तो क्षण बारम्बार सामना गर्नुपर्ने अभिजितको तर्क छ ।
६६ वर्षीय गायकले न्यूज १८ लाई अन्तर्वार्ता दिँदै भने, ‘उदित एक सुपरस्टार गायक हुन् । हामी गायकहरुको जीवनमा यस्तो भई नै राख्छ । यदि हामीलाई कडा सुरक्षा दिइएन भने फ्यानहरुले लुगा पनि च्यातिदिन्छन् ।’
अभिजितले उदितलाई रोमान्टिक गायकको संज्ञा पनि दिए । मानिसहरुले उदितको सफलतालाई ‘इन्जोइ’ गर्नुपर्ने उनको भनाइ छ ।
‘ऊ उदितनारायण हो । त्यहाँ केटीहरु उसको पछि लागेका थिए । उसले कसैलाई पनि आफूतिर तानेको होइन । उनीहरुले नै किस चाहेका हुन् । मलाई थाहा छ कि जति बेला पनि उदितले प्रस्तुति दिँदा उसकी पत्नीले स्टेजमा साथ दिइरहेकी हुन्छिन् । उसलाई आफ्नो सफलतामा रम्न दिनुस् । ऊ एउटा रोमान्टिक गायक हो’, अभिजितले थपे ।
उनले आफ्नै एउटा घटना पनि शेयर गरे । साउथ अफ्रिकामा आयोजित एक कार्यक्रममा प्रस्तुति दिने क्रममा केही महिलाहरुले आफूलाई घेरेर किस खाएको उनले बताए ।
अभिजितले थपे, ‘मसँग पनि यस्तो भएको थियो । जब म इन्डस्ट्रीमा नयाँ नयाँ थिएँ, साउथ अफ्रिकामा कन्सर्टका क्रममा तीनचार जना केटीहरुले घेरेर गालामा एकदम खतरनाक किस खाएका थिए । म स्टेजमा उक्लिनसमेत सकेको थिइनँ । त्यसबेला स्टेजमा लता मंगेसकर पनि हुनुहुन्थ्यो । मेरो गालामा लिपिस्टिकका डामहरु थिए ।’
उदितनारायणले स्टेजमा गीत गाउने क्रममा फ्यान युवतीहरुलाई किस खाएको भिडिओले अहिले सामाजिक सञ्जाल तातिरहेको छ ।