मन्त्री र सचिव भागबन्डा मिलाउँदा परराष्ट्र उपसचिवविहीन, १९ जनाको एकै पटक सरुवा (सूचीसहित)
सरुवा निर्देशिकाविपरीत ‘क’ र ‘ख’ वर्गमा बसेका उपसचिवलाई उस्तै अड्डामा मौका, मन्त्री र सचिवको लिस्टमा नपर्नेहरु बजेट र कार्यालय नै नभएका नियोगमा फालिए


काठमाडौं । सरुवा, बढुवा र पदस्थापनमा सामान्यतः कमै विवाद आउने परराष्ट्र मन्त्रालयमा यस पटक एकै पटक गरिएको १९ उपसचिवको सरुवाले विवाद र पक्षपात छरपस्ट पारेको छ ।
उपसचिव सरुवामा मन्त्री आरजु राणा देउवा र सचिव अमृतबहादुर राईबीच भागबन्डा मिलाउँदा एकातिर मन्त्रालय उपसचिवविहीन भएको छ भने अर्कोतिर सरुवा मापदण्डअनुसार ‘क’ र ‘ख’ वर्गका नियोग पाउनुपर्नेहरुमाथि अन्याय गरिएको आरोप छ ।
सचिव राईमाथि मन्त्रालयको सरुवासम्बन्धी निर्देशिकाविपरीत आफूनिकट व्यक्तिहरुलाई अवसर दिएको आरोप समेत लागेको छ । मन्त्री र सचिवनिकटका उपसचिवलाई अवसरपछि अवसर दिनकै लागि मन्त्रालय,राहनी विभाग र कन्सुलर सेवा विभागमा रहेका सबै उपसचिवहरुको विदेशस्थित कुटनीतिक नियोगमा सरुवा गरिएको छ ।
‘ओ एन्ड एम’ सर्वेक्षणबाट दरबन्दी थप भएका नियोगहरुमा बजेटसमेत व्यवस्था नगरी उपसचिव पठाइएको छ । यसक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाका निजी सचिव जेनेभाबाट फर्केका उत्तमकुमार शाहीलाई बिमस्टेक सचिवालयमा पठाइएको छ । यसमा धेरैको प्रयास थियो ।
उनले सहसचिवका लागि आन्तरिकतर्फ लिखितमा पास गरिसकेका उपसचिव हुन् । त्यस्तै न्युयोर्कस्थित स्थायी नियोगमा काम गरेर नेपाल फर्केपछि सचिव राईकै सदाशयताबाट संयुक्त राष्ट्रसंघ महाशाखामा कार्यरत उपसचिव प्रथमा उप्रेतीलाई सार्क सचिवालय काठमाडौंमा सरुवा गरिएको छ । उनको उक्त ठाउँमा सरुवा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको समेत नाम लिइएको मन्त्रालयमा चर्चा छ ।
सरुवा निर्देशिका अनुसार जेनेभा र न्युयोर्क ‘क’ वर्गमा बसेका उनीहरुलाई ‘ग’ वा ‘घ’ वर्गका नियोगमा पठाउनुपर्नेमा ‘क’ श्रेणीका ‘मालदार अड्डा’ मानिने ठाउँमा मन्त्री र सचिवको भागबन्डामा मौका दिइएको छ ।
त्यस्तै ‘क’ श्रेणीकै नयाँ दिल्लीबाट फर्किएकी धना जोशीलाई अमेरिकाको टेक्सस ड्यालस्थित महावाणिज्य दूतावासमा पठाइएको छ । जापानबाट फर्किएका अर्का उपसचिव अम्बिका जोशीलाई मन्त्रीकै निर्देशनमा नयाँ दिल्ली पठाइएको छ । यो पनि सरुवा निर्देशिकाविपरीतको सरुवा हो ।
मन्त्रीका मान्छेको व्यवस्थापन गर्दा सचिव राईले आफू निकटहरुलाई पनि ‘क’ वर्गकै ठाउँमा मौका दिएका छन् । यसक्रममा जिम्सन रुम्दाली राई न्युयोर्क र अरुणा घिसिङको वासिङटन डिसीमा सरुवा भएको छ । न्युयोर्कबाट फर्केका सुभाङ्ग पराजुलीलाई पनि सचिव राईको रोजाइमा जेनेभा दिइएको छ ।
हालै बेल्जियमको राजदूतबाट फर्किएका सहसचिव गेहेन्द्र राजभण्डारी सहोदर भाइ रवीन्द्र राजभण्डारीलाई नयाँ दिल्ली पठाउन सफल भएका छन् । सरुवा मापदण्डअनुसार सीमित उपसचिवको सरुवा गर्दा पहिले नै मन्त्रालयमा रहेकाहरुलाई पठाउनुपर्ने र आफ्नाहरु छुट्ने भएपछि मन्त्रालय नै रित्ता बनाएर उपसचिव सरुवा गरिएको आरोप लागेको छ ।
हाल मन्त्रालयमा १९ उपसचिव छन् । सरुवा भएका १८ जना एकै पटक सरुवा भएका ठाउँमा गएको अवस्थामा मन्त्रालय लगभग उपसचिवविहीन बन्छ । अदालतमा मुद्दा विचाराधीन भएका कारण अहिले अधिकृत र उपसचिवको बढुवासमेत रोकिएको छ । आफ्नालाई भाग पुर्याउन सेवा प्रवाह नै ठप्प हुनेगरी उपसचिव सरुवा गरिएको मन्त्रालयका उच्च अधिकारीहरु नै बताउँछन् ।
कतिपयले परराष्ट्र मन्त्रालयमा यस पटक रैथाने र सेवा परिवर्तनवाला समूहबीच भेदभाव भएको टिप्पणीसमेत गरेका छन् । परराष्ट्र सेवाबाट जागिर थालेका र प्रशासनलगायत सेवाबाट आएका उपसचिवहरुबीच भेदभाव भएको उनीहरुको भनाइ छ । यद्यपि सचिव राईसमेत सेवा परिवर्तन गरेर परराष्ट्रमा आएका हुन् । सचिवबाटै सरुवा मापदण्डविपरीत पक्षपात गरिएपछि कसलाई गुनासो सुनाउनै भन्दै उपसचिवहरु अन्याेलमा परेका छन् ।
को कहाँ सरुवा भए ?
१ः उत्तमकुमार शाही, बिमस्टेक सचिवालय
२ः प्रथमा उप्रेती, सार्क सचिवालय
३ः धना जोशी, टेक्सस अमेरिका
४ः अम्बिका जोशी, नयाँ दिल्ली
५ः जिम्सन रुम्दाली राई, न्युयोर्क
६ः अरुणा घिसिङ, वासिङटन डिसी
७ः सुभाङ्ग पराजुली, जेनेभा
८ः रवीन्द्र राजभण्डारी, नयाँ दिल्ली
९ः मोती श्रीष, भियना
१०ः विजयकुमार राउत, कोलम्बो
११ः विवेक रिजाल, इजरायल
१२ः कृष्ण प्रसाद चापागाईं, दुबई
१३ः पुरुषोत्तम ढुंगोल, पाकिस्तान
१४ः सत्रुघन पोखरेल, रियाद
१५ः रोशन खनाल, थाइल्यान्ड
१६ः ऋषि आचार्य, सन फ्रान्सिस्को
१७ः नितेश सापकोटा,क्यानडा ओटावा
१८ः नारायण वाग्ले, बेइजिङ