सत्ता प्राथमिकताले जनतामा निराशा, समृद्धिका लागि सहकार्य आवश्यक : मुख्यमन्त्री कँडेल – Nepal Press

सत्ता प्राथमिकताले जनतामा निराशा, समृद्धिका लागि सहकार्य आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको नेतृत्वदायी जिम्मेवारी बहन गर्दै आएको बताएका छन् ।

मंगलबार प्रेस चाैतारी नेपालकाे साताेँ जिल्ला अधिवेशनमा मुख्यमन्त्री कँडेलले समर्पण, बलिदान र योगदानको भावना अनुसार प्रदेश सरकार अगाडि बढेकाे बताएका हुन् ।

उनले राज्य सञ्चालनमा विभिन्न चुनौतीहरू रहेको स्वीकार्दै, सामूहिक रूपमा अगाडि बढ्ने आवश्यकता रहेकोमा जाेड दिए ।

संविधान निर्माण र निर्वाचनपछि राजनीतिक दलहरूले समृद्धि र विकासभन्दा सत्तालाई प्राथमिकता दिएकोले जनतामा निराशा उत्पन्न भएको मुख्यमन्त्री कँडेलको भनाइ छ।

मुख्यमन्त्री कँडेलले अहिले दुई प्रमुख दलहरूबीच सहकार्य गर्दै अघि बढ्ने वातावरण बनेको बताउँदै, प्रदेशसभामा देखिएका विभिन्न संकेतहरूलाई ध्यानमा राखेर सरकार जिम्मेवारीपूर्वक अघि बढिरहेको स्पष्ट पारे ।

मुख्यमन्त्री कँडेलले पत्रकारिता जगतको भूमिकालाई महत्त्व दिँदै, प्रेस चौतारी, प्रेस युनियनजस्ता सञ्चार संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

उनले सकारात्मक रूपमा कलम चलाएमा कर्णाली प्रदेशको समृद्धि सुनिश्चित हुने बताउँदै, ‘काम राम्रो भए जुनसुकै उमेरका व्यक्ति नेतृत्वदायी भूमिकामा स्थापित हुन सक्छन्’ भन्ने धारणा राखे।

अन्त्यमा, उनले प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकार दृढ इच्छाशक्ति सहित अगाडि बढिरहेको बताउँदै, समन्वय, सहकार्य र जिम्मेवारीपूर्वक काम गर्दा मात्र जनताको विश्वास जित्न सकिने धारणा व्यक्त गरे ।

यस्तै, अधिवेशनमा आफ्नाे भनाइ राख्दै वीरेद्रनगर नगरपालिकाका नगरप्रमुख मोहनामाया ढकालले पत्रकारिता क्षेत्रको महत्व, यसको मर्यादा र तथ्यमा आधारित खोज अनुसन्धानको आवश्यकतामाथि जोड दिनमा आग्रह गरिन् ।

उनले सञ्चार माध्यमहरू अब केवल प्रकाशन र प्रसारणमा मात्र सीमित नरहेको र हरेक व्यक्तिको हातमा मोबाइलको माध्यमबाट विचार अभिव्यक्त गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गरिन्। यसलाई मर्यादित बनाउन पत्रकार महासंघ तथा सरोकारवाला निकायहरूले छलफल गर्नुपर्ने उनको भनाइ छ।

ढकालले पत्रकार महासंघलगायत सञ्चार संगठनहरूका हकहित, पेशागत सुरक्षाका साथै पत्रकारिताको मूल उद्देश्य सत्य तथ्यमा आधारित समाचार प्रवाह गर्ने जिम्मेवारीबारे बहस आवश्यक रहेको बताइन्।

नगरपालिकाले पत्रकार संगठनहरूलाई विभेदरहित रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले कर्णाली प्रदेशले संघीयताको अभ्यास गर्दै आर्थिक सशक्तिकरण र मानवीय विकासमा उल्लेखनीय प्रगति गरिरहेको बताइन्।

उनले संघीय प्रणालीलाई बलियो बनाउन स्थानीय तथा प्रदेश सरकारलाई सशक्त बनाउँदै, कमजोरी सच्याउँदै, बलिया नीतिहरू अगाडि बढाउनु पर्ने धारणा राखिन्। प्रेस चौतारीले सदैव खोजी पत्रकारितामा अग्रसर रहनुपर्ने र समाजमा रहेका आवाजविहीनहरूको आवाज बन्नुपर्ने आवश्यकता पनि उनले औंल्याइन् ।

उक्त अधिवेशनबाट डील स्मृति क्रियाशील पत्रकारिता पुरस्कार नन्द कठायतलाई प्रदान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर